भारतबाट अवैध रूपमा ल्याइएको चालीस हजार अण्डा नष्ट

रिता घिसिंग

भरतपुर, १४ फागुन (रासस): भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । 

सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा अवैध अण्डा ल्याएको भेटेपछि अण्डा नष्ट गरिएको उहाँले बताउनुभयो । दुवै ह्याचरीबाट अण्डा उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट निकालेर अण्डा नष्ट गरिएको हो । 

 

ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अण्डा नष्ट गरेका हुन् । आज मिलन ह्याचरीले अवैध रुपमा ल्याएको १० हजार अण्डा पशुविज्ञ केन्द्रमा नष्ट गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो । अण्डासहितको गाडी उद्योगीले नियन्त्रणमा लिई पशुविज्ञ केन्द्रमा बुझाएका हुन् । । यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अवैध रुपमा अण्डा ल्याउने गरेका थिए । 

 

ह्याचरी उद्योगलाई धरासायी बनाउन भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्र्याइएको पौडेलले बताउनुभयो । रोगको प्रकोप फैलाउन अण्डाको अवैध कारोवार बढेको उहाँको भनाइ छ । नेपालमा २१५ ह्याचरी उद्योग छन् भने चितवनमा मात्रै सयभन्दा बढी उद्योग छन् । प्रतिहप्ता ३० हजार बोइलर चल्ला र तीन लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ । 

 

प्रतिक्रिया