समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै

रिता घिसिंग

काठमाडौँ, १४ फागुन (रासस) : समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घमा एक हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा पाँच रहेका छन् ।

ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिनु हुनेछ । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ ।

यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार ८१७ कर्मचारीलाई समायोजन गरेको छ । तीमध्ये सङ्घमा २८ हजार २५, प्रदेशमा चार हजार ८४६ र स्थानीय तहमा पाँच हजार ८३५ छन् ।

प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताउनुभयो ।

यसैगरी चार हजार ७९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये सङ्घमा तीन हजार ६४२, प्रदेशमा ५९३ र स्थानीय तहमा ५५८ रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताउनुभयो । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उहाँले बताउनुभयो । करीब ८७ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए ।

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

प्रतिक्रिया