नेपाल रेडक्रस सोसाइटी दक्षिण एशियाकै सफल रेडक्रस

रिता घिसिंग

काठमाडौँ, १३ फागुन । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन यही फागुन १८–१९गते यहाँ हुँदैछ । महाधिवेशनले विराटनगर महाधिवेशनले पारित गरेको संशोधित विधानमा आएको समस्याबारे छलफल गरी संस्थागत निर्णय लिने बताइएको छ ।

सोसाइटीका सभापति सञ्जीव थापाले नेरेसो अरुभन्दा छुट्टै गैसस भएकाले छुट्टै मौलिक कानून बनाएर अघि बढ्नुपर्ने पत्रकारहरुलाई सोमबार बताउनुभयो । दक्षिण एशियाकै सफल संस्था भएको जिकिर गर्दै गोरखा भूकम्पमा संस्थाले गरेको मानवीय सहयोग इतिहासकै सर्वाधिक उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि नेरेसोले सात हजार घर बनाउने लक्ष्य राखेकामा हालसम्म छ हजार ९५ घर निर्माण गरिसकेको छ । भूकम्पमा क्षतिग्रस्त भृकृटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको काम ललितपुर ग्वार्काेमा सारिएकामा अब एक महीनाभित्र केन्द्रीय कार्यालय कालीमाटीमा अस्थायी केन्द्र राखिने पनि उहाँले बताउनुभयो ।

नेरेसोका महामन्त्री देवरत्न धाख्वाले स्थापनाको ५५ वर्षमा नेरेसोले नेपालको छवि बनाउन सफल भएको जिकिर गर्नुभयो । उहाँले दशवर्षे सशस्त्र द्वन्द्वका बेला राज्य र माओवादी पक्षलाई समदूरीमा राखेर जहाँ सरकार पुग्दैन त्यहाँ रेडक्रस भन्ने मान्यतालाई कायम राखिएको बताउनुभयो । उपमहामन्त्री हरिप्रसाद न्यौपानेले नेरेसोका हाल नेपालका ७७ जिल्लाका १५१६ उपशाखामा ५ हजार ८३१ जुनियर रेडक्रस सर्कल रहेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले गत वर्ष मुलुकका ७३ जिल्लाका एक सय आठ स्थानबाट तीन लाख ४४ हजार युनिट रगत र रक्ततत्व वितरण गरिएको र एम्बुलेन्स सेवा ६९ जिल्लाका १६९ स्थानबाट दिइएको बताउनुभयो । उहाँका अनुसार खानेपानी, सरसफाइ, स्वास्थ्य, जनजीविका विषय आदिका ९० परियोजना सञ्चालन गरिरहेको नेरेसोले भूकम्पका बेला गरेको सहयोगले ८० लाख लाभान्वित भएको जानकारी दिनुभयो । नेरेसोको मिडिया संयोजक दिव्यराज पौडेलले मिडिया र रेडक्रसबीच आपसी सहयोगका लागि आह्वान गर्नुभयो ।

रेडक्रसको अन्तरराष्ट्रिय समितिका नेपाल नियोग प्रमुख अन्द्रे पेकेले रेडक्रस संस्थाहरुले आफूलाई सदैव पवित्र सावित गर्नुपर्नेमा जोड दिनुभयो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घका नेपाल कार्यक्रम समन्वयकर्ता एर्वे गजेऔले समुदायका लागि सबैसँग समन्वय राखी आफूलाई दक्ष बनाउने रेडक्रसको प्रयत्न रहिरहने बताउनुभयो ।

प्रतिक्रिया