बालबालिकालाई न्यानो कपडा वितरण

रिता घिसिंग

डोटी, १४ फागुन (रासस) : सामुदायिक विकास केन्द्र नामक गैरसरकारी संस्थाले जिल्लाका पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका अनाथ तथा गरीब समुदायका दुई हजार १०८ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

जाडोको समयमा प्रयोग हुने न्यानो कपडाको रुपमा प्रत्येक बालबालिकालाई एक÷एक जोर ट्रयाकसुट वितरण गरिएको सो संस्थाले जनाएको छ । सामुदायिक विकास केन्द्र र वर्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित स्पोन्सरसिप कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

जिल्लाभरिमा रहेका अनाथ तथा गरीब समुदायका चार हजार बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण गरिएको हो । पजल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका– ४, ५, ६ आदर्श गाउँपालिका–ं १, २, ३, ४, ५, र ७ र दिपालय सिलगढी नगरपालिका–२ मा केही दिनमा न्यानो कपडा वितरण गरिने उक्त संस्थाले जनाएको छ । दिपालय सिलगढी नगरपालिका–९ कलेनामा पहिले पनि कपडा वितरण गरिएको थियो ।

हिमपात ः जनजीवन कष्टकर

जिल्लाका उच्च पहाडी भेगमा फेरि हिमपात भएपछि स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएका स्वाँडा, मछिन्तोला, गोलादेउ, झिग्रारानालगायतका गाउँ सेताम्मे भएका छन् ।

हिमपातका कारण स्थानीय बासिन्दा घरबाहिर निस्किन नसकेको भिग्रानाका स्थानीयवासी भरतबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “आज राति परेको हिँउले पूरै डाँडाकाँडा ढाकेको छ, गाईबस्तुसँगैँ मानिस समेत बाहिर निस्किन सक्ने अवस्था छैन ।”

जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदारधुरा, उदैनीलगायतका उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीयवासी दीपक खड्काले बताउनुभयो । उहाँका अनुसार ती क्षेत्रमा बाक्लो हिमपातका कारण स्थानीयवासीले गाईबस्तुसमेत चराउनका लागि गोठ बाहिर निकाल्न सकेका छैनन् ।

त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा करीब दुई फुट हिउँ परेको नेपाली सेनाका सुदूरपश्चिम पृतना दिपायलले जनाएको छ । बाक्लो हिमपात भएपछि निकुञ्जमा खटिएका सैनिकलाई नियमित गस्ती गर्नसमेत समस्या हुन थालेको बताइएको छ । निकुञ्ज क्षेत्रमा गस्ती गर्न बनाइएका बाटा हिउँले ढाकेका कारण बाटो पत्ता लगाउन पनि कठिन भएको निकुञ्ज सुरक्षाका लागि खटिएका सैनिकले जनाएका छन् ।

त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग केही समय बन्द भएपनि अहिले सुचारु भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । बाक्लो हिउँ परेपछि यहाँका पानी नलाग्ने उच्च पहाडी क्षेत्रमा खेती सप्रिने आशमा किसान खुशी भएका छन् ।

प्रतिक्रिया