केन्द्रीय कारागार कारखानाबाट सामग्री बिक्री

रिता घिसिंग

काठमाडौँ, १४ फागुन (रासस) : केन्द्रीय कारागारस्थित कारखानाले चालू आर्थिक वर्षमा रु ५० लाख बराबरको सामग्री बिक्री गरेको छ । कारखानाले कैदीबन्दीले उत्पादन गरेका सुती र सुतीबाट रङ्गाइबुनाइ गरेका कपडा बिक्री वितरण गरेको हो । 

कारागार कारखानाका प्रमुख रामहरि ढुङ्गेलले दैनिक १५० कैदीबन्दीले उत्पादन गरेको सामान बिक्री वितरण गरेर चालू आवमा रु ५० लाख आम्दानी गरेको बताउनुभयो । “आम्दानी भएको पैसा कारागार कारखानाअन्तर्गत रहेको पूँजी परिचालन कोषमा जम्मा हुन्छ, उक्त पैसा धागो किन्न र केही पैसा काम गरेबापतको कैदीबन्दीलाई ज्यालास्वरुप दिइन्छ”, उहाँले भन्नुभयो । पूँजी परिचालन कोषमा हाल रु एक करोडभन्दा बढी नगद रहेको छ । 

 

कारखानाले गत आवमा मात्र रु ७२ लाख मूल्यबराबरको सामग्री बिक्री वितरण गरेको थियो । कारखानाले हरेक वर्ष ३५ कैदीबन्दीलाई सिलाइबुनाइसम्बन्धी तालिम समेत प्रदान गर्दै आइरहेको ढुङ्गेलले बताउनुभयो । 

 

कैदीबन्दीले उत्पादन गर्ने सामग्री ठमेल, नयाँ सडक र नेपाल वायुसेवा निगममा बिक्री वितरण हुँदै आइरहको छ । एक मिटर कपडा बुनेबापत एउटा कैदीबन्दीले छ रुपैयाँसम्म ज्याला पाउँदै आएको छ । 

 

सरकारले कारखानामा काम गर्ने कैदीबन्दीलाई प्रत्येक वर्षको दुई महीनाका दरले कैद भुक्तान समय मिनाहासमेत गर्ने गरेको छ । विसं २०१६ मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शुरु भएको कारागार कारखानाले हालसम्म पनि कैदीबन्दीलाई काम लगाउँदै आएको छ । 

 

नेपालमा विसं १९७१ बाट कारागार शुरु भएको हो । हाल देशभर ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुईवटा कारागार छन् भने धनुषा, बारा र भक्तपुर साथै पछि थपिएका दुई जिल्ला नवलपुर र रुकुम पश्चिममा पनि कारागार छैन । कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् । 

 

प्रतिक्रिया