साह दम्पतीको हत्या

admin

सप्तरी, १४ फागुन  : खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ ।

सधैँ सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको अवस्थामा फेला परेको छिमेकीले बताए । छिमेकी सरस्वती चौधरीका अनुसार दुवैको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकाले हत्याको सम्भावना छ । साह दम्पतीका जेठा छोराबुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोराबुहारीसहित धरानमा बसोबास गर्छन् । छोरा, बुहारी नाती–नातिनासहित बाहिर बसेकाले साह दम्पती मात्र घरमा बस्ने गरेका थिए । 

 

आर्थिक रुपले गाउँका सम्पन्न साह घरकै एक सटरमा धान, गहँु, मसला पिँध्ने मिल चलाएर बसेका थिए । साहले गाउँलेलाई ब्याजमा लाखौँ रुपैयाँ ऋणकर्जा दिने गरेको छिमेकीको भनाइ छ । मिलनसार स्वभावका साह दम्पतीको गाउँमा कसैसँग झगडा र विवाद नभएको छिमेकी बताउँछन् । यता हत्यारालाई पछ्याउँदै सर्च अपरेशनमा खटिएको अनुसन्धान टोलीसहितको तालीम प्राप्त कुकुर घटनास्थलभन्दा दुई किलोमिटरको दूरीमा रहेको एउटा पोखरीमा गएर रोकिएको छ । हत्यारालाई चाँडै पत्ता लगाउने दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अपराधी पत्ता लगाउन कुनै किसिमको लापरवाही नहोस् भनेर शुरुआतदेखि नै तालीम प्राप्त कुकुर र फोरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताउनुभयो । 

-रासस

प्रतिक्रिया