फालेलुङमा अलैँची मेला सम्पन्न

admin

फिदिम, १५ फागुन : पाँचथरको फालेलुङ गाँउपालिका–७ सिदिनमा अलैँची मेला सम्पन्न भएको छ । मेलामा अलैंँचीका विभिन्न उत्पादनसहित अलैँचीको पात र डाँठबाट निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो ।

मेलामा अलैँचीसँग सम्बन्धित विभिन्न प्रचारप्रसार सामग्री कृषकलाई वितरण गरिएको छ । याङतारु अलैँची जोन सञ्चालक समितिले आयोजना गरेको मेलामा गाउँपालिकाका आठ वटै वडाका अलैँची कृषकको सहभागिता रहेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यान्वयन एकाइ पाँचथरको सहयोगमा मेला आयोजना गरिएको हो । यहाँका वडा नं १, २, ६ र ७ मा ५०० हेक्टर जमीनबाट शुरु गरिएको अलैँची जोन कार्यक्रममा अहिले पूरै गाउँपालिकामा फैलिएको छ । करीब दुई हजार हेक्टर जमीनमा अलैँची खेती विस्तार भएको छ ।

गत वर्षबाट आयोजना गर्न थालिएको अलैँची मेलामा अलैँचीमा देखापरेका समस्या समाधानमा कृषि प्राविधिकको परामर्श लिइएको छ । मेलामा यहाँ उत्पादित वस्तुको बिक्री तथा प्रदर्शनी गरिएको छ । खेर गइरहेको अलैँचीका बोटबाट बनेका विभिन्न वस्तु, अलैँचीको चिया, मसलालगायत स्थानीय उत्पादन बिक्री गरिएको याङतारु अलैँची जोन सञ्चालक समितिका अध्यक्ष सुजन आङ्वोले बताउनुभयो ।

मेलाको अवसरमा आयोजित कार्यक्रममा जोन कार्यान्वयन एकाइसँग अलैँचीखेती विस्तार र उत्पादकत्व वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेका पाँच कृषकलाई सम्मान गरिएको थियो । सम्मानित हुने कृषकमा पदमप्रसाद रिजाल, हर्कमाया राई, पूर्णबहादुर राई, जसराज केरुङ र हरिप्रसाद रिजाल रहनुभएको छ । उहाँहरूलाई गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङले नगद पुरस्कार, दोसल्ला र प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख केरुङले उत्पादन र उत्पादकत्व वृद्धिमा अलैँची जोन कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँले आगामी दिनमा अलैँचीबाट उत्पादित सामग्रीको बजारीकरण र प्याकेजिङलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।

कार्यक्रममा ७७ कृषक समूह, पाँच कृषि सहकारी संस्था कार्यक्रममा सूचीकृत भएका छन् भने दुई हजार ६६५ घरधुरीका कृषक आबद्ध रहेको जोन कार्यान्वयन एकाइकी रञ्जु खड्काले जानकारी दिनुभयो । कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरण गर्ने, कृषिको आधुनिकीकरण गर्दै व्यावसायिक, दिगो एवं आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालित छ । कृषिमा विशिष्टिकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य शृङ्खला अभिवृद्धि गर्ने, स्थानीय उत्पादनलाई विश्वबजारमा पु¥याउन मद्दत गर्ने, कृषि क्षेत्रमा रोजगारका अवसर सिर्जना गर्ने लक्ष्यका साथ अलैँची जोन कार्यक्रम सञ्चालन भएको कार्यक्रमका प्रमुख प्रकाश विश्वकर्माले बताउनुभयो ।

परियोजनाले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरणमा भूमिका खेल्ने विश्वास लिइएको छ । जोन कार्यक्रममा विश्वबजारमा राम्रो मूल्यमा बिक्री हुनसक्ने अलँैचीको गुणस्तर सुधार र उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम भइरहेका छन् । यस क्रममा अलैँची कृषकलाई लक्षित गरी आधुनिक भट्टी निर्माण र वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत नै ७० सुधारिएको अलैँची भट्टी वितरण भइरहेको छ ।
-रासस

प्रतिक्रिया