म्याग्दीमा चौँथो पटक हिमपात, जनजीवन प्रभावित

रिता घिसिंग

गलेश्वर, १५ फागुन (रासस) : म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्ष चाँैथो पटक हिमपात भएपछि हिउँदेबाली र जनजीवनमा प्रतिकूल असर परेको छ । बालीमा बढी चिसोका कारण क्षति पुगेको छ भने मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।

मङ्गलबार दिउँसो मौसम सफा भए पनि बेलुकीदेखि ग्रामीण क्षेत्रमा हावाहुरीसँगै वर्षा र हिमपात शुरु भएको हो । बेनी नगरपालिकाको ग्रामीण बस्तीमा सामान्य हिमपात भए पनि मालिका, मङ्गला, धौलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा चौँथो पटक हिमपात भएको छ ।

मालिका गाउँपालिका–५ देवीस्थान हिमपातले सेताम्ये भएको छ भने ओखरबोटलगायतका ठाउँमा पनि अहिले हिउँ परिरहेको स्थानीय टेकबहादुर बुढाले जानकारी दिनुभयो । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रमा पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन नसकेका ताकमका बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।

उता म्याग्दीको दुर्गम गुर्जामा पुरानै हिउँ पग्लिनसकेको अवस्थामा पुनः हिमपात भएपछि समस्या उत्पन्न भएको छ ।

विद्यालयलाई ल्यापटप सहयोग

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले रु १७ लाख मूल्य बराबरका १९ थान ल्यापटप सहयोग गरेको छ ।

दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले रु १७ लाख मूल्य बराबरको १९ थान ल्यापटप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनले जानकारी दिनुभयो । संस्थाका प्रतिनिधिले विद्यालयमा हालै आयोजित एक कार्यक्रममा ल्यापटप हस्तान्तरण गर्नुभएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

सो संस्थाले यसअघि विद्यालयको भवन निर्माणमा पनि सहयोग गरेको थियो । भवनलगायत पूर्वाधार र शैक्षिक क्षेत्रमा संस्थाले रु डेढ करोड बराबरको सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया