मसला उद्योगबाट रोजगारी

रिता घिसिंग

लमही, १५ फागुन (रासस) : दाङको एक मसला उद्योगले १५ लाई रोजगार प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ गाईडहरमा रहेको केसी मसला उद्योगले १५ जनालाई रोजगार दिन सफल भएको हो । 

उद्योग सञ्चालक ध्रुव केसीका अनुसार मसला प्याक गर्न ११, सवारी चालक दुई र बिक्री वितरणका लागि दुई जनालाई रोजगार दिइएको छ । गतवर्ष रु ३० लाखको लागतमा सञ्चालित उक्त उद्योलले अहिले मासिक करीब रु २० लाखको मसला बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । मासिक सबै खर्च कटाएर रु डेढ लाखभन्दा बढी आम्दानी हुने गरेकोसमेत उहाँले बताउनुभयो । 

 

स्थानीय स्रोत, साधनलाई प्रोत्साहन गर्नुका साथै रोजगार सिर्जना गर्न उद्योग सञ्चालन गरिरहेको भन्दै उहाँले अहिले धनञ्जय नाम दिएर विभिन्न तरकारी मसला बजारमा ल्याउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मासु मसला, मिक्स मसला, खुर्सानी, जिरा, धनियाँलगायतका मसला उत्पादन गरेर बिक्री वितरण गरिन्छ । 

 

अहिले उद्योगबाट उत्पादित मसला दाङका विभिन्न बजारसहित रुकुम, सल्यान, रोल्पा, प्युठान, बाँके, जाजरकोटलगायतका जिल्लामा जाने गरेको उहाँले बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले यस्ता उद्योगको वृद्धि हुँदा यहाँ रोजगारीको सिर्जना हुने भएकाले स्थानीय सरकारले पनि यस्ता उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

 

प्रतिक्रिया