बगरेभञ्ज्याङमा पोखरी निर्माण शुरु

रिता घिसिंग

खोटाङ, १५ फागुन (रासस) : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र ११ खार्मीको सिमानामा पर्ने बगरेभञ्ज्याङमा पोखरी निर्माण शुरु गरिएको छ । 

नगरपालिकाको रु दुई करोड ५७ लाखको लागतमा निर्माण शुरु गरिएको उक्त पोखरीको लम्बाइ १८० मिटर र चौडाइ १५० मिटर रहेको छ । पहिलो चरणअन्तर्गत पोखरीको पर्खाल लगाउने काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष भोगेन राई ‘एक्ले’ले जानकारी दिनुभयो । करीब दश मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने पोखरीभित्र करीब सात मिटर गहिराइसम्म पानी जम्मा हुने जनाइएको छ । 

 

दिक्तेल–पाथेका सडक खण्डमापर्ने बगरेभञ्ज्याङमा निर्माणाधीन पोखरीले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास नगरपालिकाको छ । 

 

चारैतिर घना जङ्गल रहेको उक्त ठाउँमा निर्माणाधीन पोखरीमा डुङ्गा सयर गर्न मिल्नेगरी संरचना बनाइने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “बगरेभञ्ज्याङ उच्च पर्यटकीय सम्भावना बोकेको ठाउँ हो”, उहाँले भन्नुभयो, “यसको प्रवद्र्धनमा नगरपालिकाले दीर्घकालीन योजना बनाएर काम थालेको छ । यसले नगरको पर्यटन प्रवद्र्धनसँगै आर्थिक उन्नतिमा समेत सघाउ पुग्नेछ ।” 

 

मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरेभञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्ग निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । सदरमुकाम दिक्तेलबाट करीब नौं किलोमिटर टाढा रहेको बगरेभञ्ज्याङलाई वनभोजस्थलका रुपमा समेत विकास गर्ने योजना बनाइएको छ । 

 

पोखरी निर्माण सम्पन्न भएपछि आसपासमा पानीको स्रोत समेत वृद्धि हुने अपेक्षा गरिएको छ । निर्माणाधीन पोखरी आसपासमा ठूला चउर तथा खर्कसमेत रहेको छ । 

 

समुद्री सतहदेखि करीब एक हजार ८०० मिटर उचाइमा रहेको बगरेभञ्ज्याङ आसपास लालीगुराँस, चाँप, सुनाखरीलगायतका फूल पाइन्छ । मृग, हरिन, घोरल, खरायोलगायत जङ्गली जनावर भेटिने बगरेभञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्यूरा, मलेवा, ढुकुर जस्ता चराचुङ्गी देख्न पाइन्छ । 

 

निर्माणाधीन पोखरीबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडा लगायतका ठाउँ जाने पदमार्ग निर्माण गरिने योजना बनाइएको छ । प्राकृतिक रुपले चारैतिर हरियाली रहेको उक्त ठाउँमा अहिले पनि आन्तरिक पर्यटक घुम्न जाने गरेका छन् । 

 

 

प्रतिक्रिया