रेसुङ्गामा चौथो पटक हिमपात

रिता घिसिंग

तम्घास, १५ फागुन : गएरातिदेखि परेको वर्षाका कारण गुल्मीको रेसुङ्गा, मदाने, सत्यवतीलगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण बुधबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्ला सदरमुकाम तम्घासलगायतका उच्च भू–भागमा निकै चिसो समेत बढेको छ ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सवारी साधन कमै मात्रमा सञ्चालन भएका छन् । वर्षासँगै ग्रामीण सडकमा हिलो थुप्रिएका कारण सवारी साधन सञ्चालनमा समस्या भएको हो । सरकारी कार्यालयमा सेवा लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या आज न्यून रहेको छ ।

सदरमुकाम तम्घाससँगै जोडिएको रेसुङ्गा क्षेत्रअन्तर्गत पोखरी, यज्ञशाला, सिद्धस्थान, भ्यूटावरलगायतका क्षेत्रमा व्यापक हिमपात भएपछि सदरमुकाम तम्घासमा अत्यधिक चिसो बढेको छ ।

चिसोका कारण कतिपय विद्यालयमा पठनपाठन समेत प्रभावित बनेको छ । हिउँ र हिउँदे वर्षाले खेतबारीमा लगाएका बालीनाली सप्रिने र खेतीपाती समेत राम्रो हुने भएका कारण जिल्लाका कृषक खुशी भनेका छन् । गुल्मीमा यसवर्ष मात्र चौथो पटक हिमपात भएको हो । रासस

प्रतिक्रिया