रुपन्देही मकै पकेट क्षेत्र घोषणा

कृष्ण रोकाया

खस्यौली, १५ फागुन :नगरपालिकालाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको छ । मकै खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको हो ।

नगरभित्र झण्डै ७० प्रतिशत खेतीयोग्य जमीन छ । नगर प्रमुख वासुदेव घिमिरेले वडा नम्बर १२ को विष्णुपुरामा कृषक समूहलाई प्रविधि हस्तान्तरण गरेर कार्यक्रमको शुरुआत गर्दै नगरलाई प्रमुख खाद्य र नगदेबालीमा आत्मनिर्भर बनाउने गरी काम अघि बढाइएको बताउनुभयो ।

यसअघि नगरपालिका–१४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिसकेको छ । किसानको सहजीकरणका लागि नगरपालिकाले त्यहाँ एक जना प्राविधिकको छुट्टै व्यवस्थापन गरेको छ ।

कृषि प्राविधिक पकेट क्षेत्रमा वर्षायाममा धान काटेपछि दुई याममा मकै लगाउन सकिने बताउँछन् । नगर प्रमुख घिमिरेले जमिनको राम्रो तयारी गरेर मात्र मकै लगाउन किसानलाई आग्रह गर्नुभयो । १२ नम्बर वडाको कम्तीमा २५ बिघा क्षेत्रफलमा पकेट क्षेत्रका रुपमा यसपटक मकै बाली लगाइनेछ ।

यहाँ लगाइने मकै उन्नत जातको हुने र उक्त मकैको हरेक बोटमा दुई वटा घोगा लाग्नेछन् । उक्त मकै ८० देखि ९० दिनसम्म तयार हुनेछ । सो अवसरमा कृषि सञ्जालका अध्यक्ष शारदा काफ्लेलाई कृषि प्रविधि हाते १८ एचपी ट्रयाक्टर, सिट ड्रिलर, मकैको बीउ, मल र कर्न सिलर (मकै छोडाउने मेशिन) समेत हस्तान्तरण गरिएको छ ।

नगरपालिकाले मकैको बीउमा शतप्रतिशत र अन्य उपकरणमा ९० प्रतिशत अनुदान दिएको बताएको छ । साथै सोही क्षेत्रमा सिँचाइका लागि दुई वटा बोरिङ पनि जडान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख जीवन आचार्यले जानकारी दिनुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याउँदै जाने बताउँदै उत्पादित कृषि वस्तुको बजारीकरणमा समेत नगरपालिकाले सघाउने बताउनुभयो ।रासस

प्रतिक्रिया