मन्दिरको ज्वाला निभ्यो

admin

सिञ्जा, १५ फागुन : कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ । “उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो, ज्वाला निभेपछि मात्रै थाहा भयो”, आचार्यले भन्नुभयो । पुजारी रमेश न्यौपानेले पूजा गर्ने समय तथा हिमपात र हावा एकैसाथ लागेपछि ज्वाला निभेको बताउनुभयो । उहाँका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ । गुठी समितिका कार्यवाहक अध्यक्ष हस्तबहादुर थापासहितको टोली ज्वाला ल्याउनका लागि दैलेख जाने भएको छ ।

यसअघि विसं २०७० मा चन्दननाथ मन्दिरमा मूर्ति चोरी भएपछि संयोगले ज्वाला निभेको थियो । एक जना बाबाले दैलेख हुँदै ज्वाला ल्याएका थिए । “त्यो ज्वाला अहिलेसम्म बलेको थियो, एक्कासि निभ्यो” आचार्यले पुरानो मान्यता मान्दै भन्नुभयो, “यो शुभ सङ्केत होइन ।” एक्कासि ज्वाला निभेपछि स्थानीयवासी पनि चिन्तित छन् । बिहानको पूजा नियमित रुपमा चलिसकेपछि साढे ९ बजे तीव्र गतिले चलेको हावाले ज्वाला निभेको थियो । मन्दिर खोलेर पूजा गर्ने समयमा ध्वनि कोठामा गोब्रे हालिन्छ ।

ज्वालामा एक महीनामा २८ माना घिउ हाल्नुपर्छ । ज्योति नआउँदासम्म मन्दिरमा पूजा नहुने भएको छ । भारी हिमपात र वर्षा भइरहेकाले ज्वाला लिन दैलेख जान समेत कठिन भएको छ । दैलेख शिरस्थानबाट ज्वाला ल्याउने समयमा पूजा गर्नुपर्छ । बाटोमा पूजा गर्दै ल्याउनुपर्छ । मन्दिर स्थापना भएदेखि ज्वाला ल्याउने चलन बसेको बताइन्छ । निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले ज्वाला निभेका विषयमा जानकारी दिन गुठी समितिको टोली मन्दिरमा बोलाइएको जानकारी दिनुभयो । उहाँले दैलेख गएर चाँडोभन्दा चाँडो ज्वाला ल्याउनका लागि पहल थाल्न निर्देशन पनि दिनुभयो ।
-रासस

प्रतिक्रिया