सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यक

मनिषा थापा

संयुक्त राष्ट्रसंघ, १६ फागुन  : सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् ।

गत मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष पेश गरिएको सो प्रतिवेदनमा यसरी मानवीय सहायताको खाँचो पर्नेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् ।

उत्तर पश्चिमी सिरियाका करिब २७ लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता अत्यावश्यक रहेको राष्ट्रसंघ मानवीय मामिला समन्वय (ओचा)की निर्देशक रीना गिलानीले बताउनुभयो ।

त्यस क्षेत्रका सिरियाली नागरिकलाई अन्य भू–भागको तुलनामा मानवीय सहायताको बढी खाँचो रहेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो सहायताको खाँचो रहेका करिब ४० प्रतिशत बालबालिका विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ । करिब २० लाख नागरिकलाई शुद्ध पानीको आवश्यकता रहेको छ । यहाँका नागरिक न्यूनतम आवश्यकताका वस्तुबाट पनि वञ्चित रहेका र उनीहरुका कारण परिस्थिति झन भन्दा झन नाजुक बन्दै गएको छ ।

ओचाका निर्देशक गिलानीले अवस्था नाजुक रहेकाले सबैले ध्यान दिन आग्रह गर्नुभयो ।

सिरियाको उत्तरपश्चिमी क्षेत्र र विशेषगरी इद्लिबका नागरिकको अवस्था अन्यत्रको भन्दा नाजुक रहेको निर्देशक गिलानीको भनाई छ ।

सो क्षेत्रका नागरिक अन्यत्र कतै जान पाउँदैनन् र उनीहरुलाई सैनिक घेराभित्र राखिएको छ तर पनि उनीहरुका लागि दैनिक जीविवकोपार्जनका लागि आवश्यक वस्तुहरु पाउन निकै कठिन छ ।

रुस र टर्कीसँगको सहमतिपछि टर्कीको सीमा क्षेत्रको केही क्षेत्रमा सैनिक नराख्ने भनी सहमति भएको थियो । त्यस क्षेत्रमा बस्ने नागरिकमा पनि आधारभूत खाद्य तथा अन्य वस्तुहरुको खाँचो रहेको पाइएको छ ।

त्यस क्षेत्रमा सैन्य गतिविधि त भएको छैन तर पनि त्यहाँका स्थानीय नागरिक त्यहाँबाट विस्थापित हुन भने रोकिएको छैन । हजारौँको संख्यामा त्यहाँका नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् ।

उनीहरु विस्थापित हुनुको कारण पछिल्लो समयमा सुरक्षा भन्दा पनि आधारभूत अवाश्यकता नपाएर पनि हुनसक्ने अनुमान अधिकारवादीहरुको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया