आहा रारा गोल्डकप: उपाधिको दौडमा आर्मी र थ्रीस्टार

admin

कास्की, १७ फागुन : राष्ट्रिय खेलकूद परिषद्ले सञ्चालन गर्ने बाहेकका अन्य प्रतियोगिता तथा खेल नहुने पोखरामा सहारा क्लबको आयोजनामा २०५८ सालमा ‘क्याराभान गोल्डकप’ आयोजना भयो । पहिलोपटक सञ्चालन गरिएको सो प्रतियोगिताले पोखरेलीको मन छोयो । विसं २०५९ देखि आहा राराको नामबाट शुरुआत भएको प्रतियोगिता अहिले १७ औँ संस्करणसम्म आइपुगेको छ । शुरुआतदेखि हरेक वर्ष निरन्तरता पाएको प्रतियोगिता नै आहा रारा गोल्डकप बनेको छ । पर्यटकीय शहर पोखरामा खेलकूदका गतिविधि बढाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहाराको विशेष योगदान छ । 

मोफसलको प्रतिष्ठित गोल्डकपको रुपमा रहेको प्रतियोगिताबाट बचत रकम सहाराले पोखरा–१७ दोबिल्लामा एकेडेमी सञ्चालन गरी विपन्न तथा कठीन परिस्थितिका २८ बालकलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ । विसं २०५८ मा पहिलो क्याराभान गोल्डकपदेखि अहिले आएर आहा राराको १७औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिता वर्षेनी रोचक बन्ने गरेको खेलप्रेमी बताउँछन् । 

 

आहा रारा पोखराको खेलकूदको स्थापित ब्राण्ड बनेको छ । प्रतियोगिताको सफलताले गर्दा नै पहिलो संस्करणदेखि नै हिमश्री फुड्सले मुख्य प्रायोजन गरेर साथ दिँदै आएको छ । यही फागुन ९ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार विभागीय त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबकाबीच हुँदैछ । आर्मी क्लबले अहिलेसम्म आहा राराको उपाधि जितेको छैन भने पोखरामा लोकप्रिय थ्रीस्टारले उपाधिमा ह्याट्रिक गरे पनि उसलाई पोखरामा आफ्नो साख जोगाउन फाइनल जित्नै पर्ने दबाब हुनेछ । 

 

विसं २०६२ मा पहिलोपटक आहा रारामा सहभागी भएको आर्मी सातौँ, आठौँ र १४औँ संस्करणमा फाइनलसम्म पुगेको थियो । आर्मीको उपाधि चुम्ने लक्ष्यमा सातौँ र आठौँमा पुलिस तथा १४औँ मनाङ बाधक बन्यो । थ्रीस्टारले नवौँ, ११औँ र १३औँ संस्करणमा उपाधि उचाल्दा अघिल्लो संस्करणमा भने नेपाल पुलिस क्लबसँग पराजित हुन पुग्यो । 

 

जारी सिजनमा आर्मी र थ्रीस्टारबीचको खेलमा दुवैले एक÷एक खेल जितेका थिए । सिमरा गोल्डकपमा आर्मीलाई सडन डेथमा पराजित गरी थ्रीस्टारले उपाधि उचाल्यो भने मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा टाइब्रेकरमा थ्रीस्टारलाई आर्मीले पराजित ग¥यो । मोफसलमा इटहरीको मदन भण्डारी र विशाल मेमोरियल गोल्डकप आर्मीले जितेको छ भने थ्रीस्टारले सिमरा गोल्डकप जितेको छ । थ्रीस्टार र आर्मीको खेल जहिले पनि प्रतिस्पर्धात्मक हुने गरेको छ । 

 

फाइनल खेल अघि आज भएको पत्रकार सम्मेलनमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भोलिको खेल अत्यन्त प्रतिस्पर्धात्मक हुने बताउनुभयो । उहाँले विगतको इतिहासलाई दोहो¥याउँदै जितका लागि मैदानमा उत्रिने बताउनुभयो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आहा राराको उपाधिविहीनताको स्थितिलाई तोड्ने बताउनुभयो । इतिहास रच्ने आफ्नो टोलीको लक्ष्य भएकाले सबै खेलाडीले उत्तिकै सचेत भएर खेल्ने न्यौपाने बताउनुहुन्छ । 

 

आर्मीका कप्तान भरत खवास पोखराको मैदानमा उपाधि जित्ने सपना पूरा हुने बताउनुहुन्छ । थ्रीस्टारका विक्रम लिम्बुले जित्ने मनोबलका साथ खेलाडी मैदानमा ओर्लिने बताउनुभयो । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित रु आठ लाख एक हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु चार लाख एक हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर तथा उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु १५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिनुभयो । 

-रासस

प्रतिक्रिया