वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन

रिता घिसिंग

काठमाडौँ, १९ फागुन (रासस) : वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहनुभएका ६९ वर्र्षीय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिनुभयो । 

 

शनिबार दिउँसो मुटुमा समस्या आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहनुभएका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहनुभएको थियो । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ । 

 

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई छोरा रोशन गौतमले दागबत्ती दिनुभएको थियो । काठमाडाँै शाखाबाट उहाँ महासङ्घको केन्द्रीय पार्षद रहनुभएको थियो । 

 

लाजिम्पाटमा बस्दै आउनुभएका उहाँका एक छोरा र श्रीमती हुनुहुन्छ । यसै वर्ष उहाँ प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको थियो । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौँ शाखाले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको अध्यक्ष बिडारीले बताउनुभयो । 

 

प्रतिक्रिया