रेशम खेतीतर्फ किसानको आकर्षण

admin

लमही, १९ फागुन : दाङको गढवा गाउँपालिकाका किसान रेशम खेतीतर्फ आकर्षित भएका छन् । रेशम खेतीबाट मनग्य आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसान रेशम खेतीतर्फ आकर्षित भएका हुन् । अहिले ४५ बिघा क्षेत्रफलमा रेशम खेती भइरहेकामा चालू आर्थिक वर्षभित्र करीव २०० बिघा क्षेत्रफलमा रेशम खेती हुने अपेक्षा गरिएको छ ।

धादिङका महेशदत्त अधिकारीले २०७४ साउनदेखि गढवामा रेशम खेती शुरु गर्नुभएपछि त्यहाँका किसान रेशम खेतीतर्फ आकर्षित भएका हुन् । “रेशम खेती फस्टाउन थालेको छ,” उहाँले भन्नुभयो – “यसको खेती बढाउँदै लैजान्छौँ । खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।” हाल सो ठाउँमा रेशमबाट उत्पादन भएको ‘कोकुन’ प्रशोधन गर्ने उद्योग सञ्चालनमा छ । अधिकारीले दश बिघामा रेशम खेती गर्नुका साथै प्रशोधन उद्योगसमेत सञ्चालन गर्नुभएको छ ।

गढवा गाउँपालिका–४ का रामलक्ष्मण शाहले दुई विघा जमीनमा रेशम खेती गर्नुभएको छ । पर्याप्त आम्दानी हुने भएपछि उहाँ सो खेतीतर्फ आकर्षित हुनु भएको हो । बाँझो जग्गासमेत सदुपयोग गरी उहाँले रेशम खेती थाल्नु भएको हो । “यस अघि जग्गा बाँझो राख्नुपर्ने अवस्था थियो, आम्दानी हुने देखेर रेशम खेतीमा हात हालेको हो”, उहाँले भन्नुभयो ।

यस्तै गढवा–४ हडैयाका जुनी चौधरी रेशम खेतीबाटै अहिले मनग्य आम्दानी गर्नुहुन्छ । उहाँले रेशम खेतीबाटै ६ जनाको परिवार पाल्नु भएको छ । “मासिक रु १५ हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “श्रीमान्ले कमाएको पैसाले घर चलाउन समस्या हुन्थ्यो । अहिले आफै मनग्य आम्दानी गर्छु ।” सोही ठाउँकी लक्ष्मी चौधरीले पनि रेशम खेती गरेरै मनग्य आम्दानी गरिरहनुभएको छ ।


अहिले नमूना रेशम खेती दर्ता गरी सो क्षेत्रका किसानले व्यावसायिक रेशम खेती थालेका छन् । गाउँपालिकाका अध्यक्ष सहजराम यादव गाउँपालिकामा ६ फार्म सञ्चालनमा रहेको बताउनुहुन्छ । यहाँ उत्पादन भएको रेशमबाट धागो बनाई तयार भएको कपडा अमेरिका, जापानलगायत मुलुकमा निर्यात गरिन्छ । यहाँ रेशमको धागो प्रतिकिलो रु चार हजारमा बिक्री हुन्छ । किम्बुको घाँस रेशम किराले खाएर कोकुन उत्पादन गर्छ । यसैबाट धागो बनाइन्छ । एक बिघा क्षेत्रफलमा ११ देखि १२ हजार किम्बुका बिरुवा रोप्न सकिन्छ । त्यही किम्बुु नै रेशमको आहारा हो । किम्बु उत्पादन हुने ठाउँमा रेशम खेती हुन्छ ।

एक बक्सा किराका लागि एक हजार किम्बुका बिरुवा चाहिन्छ । रेशम किराले २५ देखि २८ दिनमा धागो छोड्न शुरु गर्छ । किरा काभ्रेबाट ल्याउने गरिएको अधिकारीले बताउनुभयो । अहिले दाङ र आसपासका जिल्लामा त्यस्ता किरा उत्पादन हुँदैन । नेपालमा १० फार्ममा किरा उत्पादन हुँदैआएको बताइन्छ । अहिले गाउँपालिका आफैंले रेशम खेती गरेर रोजगारी सिर्जना गरिरहेको छ । एक बिघा क्षेत्रफलबाट वार्षिक रु चार लाख आम्दानी हुने गरेको छ । रेशम खेतीबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ ।

रेशम खेतीका लागि किम्बुको बिरुवा रोप्नु पर्छ । बिरुवा रोपिएपछि वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । रेशम खेतीसँगै बाख्रापालन पनि गर्न सकिन्छ । रेशमका लागि प्रयोग हुने किम्बुलाई बाख्राको घाँसको रुपमा पनि प्रयोग गर्न सकिन्छ । वर्षमा तीन पटकसम्म रेशम उत्पादन गर्न सकिने अधिकारीले बताउनुभयो । “गढवालाई ‘रेशम जोन’ बनाउने योजना छ”, गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो – “यहाँ रेशम पर्याप्त मात्रमा उत्पादन भइरहेको छ ।” सो प्रस्तावलाई कार्यपालिका बैठकले पारित गरेको छ । रेशम खेतीका लागि प्रदेश नं ५ ले रु १५ लाख तथा गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ ।
-रासस

प्रतिक्रिया