आन्तरिक पर्यटन मेला वैशाखमा

admin

काठमाडौँ, १९ फागुन: नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका पर्यटन व्यवसायीले आगामी वैशाख १३ र १४ गते भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला गर्ने भएका छन् ।

गन्तव्य नेपाल इभेन्ट मेनेजमेन्टलगायत संस्थाको आयोजनामा हुने उक्त मेलामा देशका ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यको प्रदर्शन गरिनेछ । सबै जिल्लाको संस्कृति प्रचार गर्न विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै व्यापारिक प्रयोजनका २०० कक्ष राखिने छन् ।

पर्वतारोहणका लागि चाहिने ट्रेकिङ सामग्री, हस्तकला सामग्री, विभिन्न जिल्लाबाट उत्पादित सामग्री, पर्यटकीय होटलका कक्ष, ट्राभल, ट्रेकिङ, एयरलाइन्सलगायत पर्यटकीय सङ्घ सस्था, स्कुल कलेज प्रतिष्ठानका कक्ष राखिने छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रले देश विकास र जनताको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पर्यटन बजार विस्तारका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष नवराज दाहालले देशका विभिन्न ग्रामीण भेगभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी तीनलाई प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
-रासस

प्रतिक्रिया