नारायणगढ–मुग्लिन सडकका १४ पुल बनाइँदै

admin

चितवन, १९ फागुन : नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महीनाभित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईकाअनुसार नक्साङ्कन गरी निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिँदै छ । 

उहाँले आवश्यक कागजपत्र अन्तिम चरणमा पुगेकाले विश्व बैंकसँग सहमति लिनुपर्ने भएकाले केही दिन लाग्ने बताउनुभयो । सवारी साधन आवागमनमा समस्या भइरहेकाले छिटो पुल निर्माण सक्ने गरी काम अघि बढाइने उहाँले जानकारी दिनुभयो । सडक नौ देखि ११ मिटर चौडा छ । सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहज हुनेछ । भट्टराईका अनुसार पुल निर्माणमा रु एक अर्ब हाराहारी खर्च लाग्ने अनुमान छ । शुरुमा नेपाल सरकारले भुक्तानी गर्ने गरी पुल बन्ने बताउँदै उहाँले पछि सो भुक्तानी विश्व बैंकले ऋण स्वरुप दिने जानकारी दिनुभयो । 

 

सो सडकका १८ पुलमध्ये चारवटा पुल निर्माणको क्रममा रहेका छन् । जटिल काम भएकाले ठेकेदार कम्पनीले नक्साङ्कनका लागि विदेशी विज्ञसमेत झिकाउनुपर्ने देखिएको छ । राजधानी काठमाडोँ भित्रने र बाहिरने देशकै प्रमुख सडक भएकाले दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । 

-रासस

प्रतिक्रिया