न्यायपालिकाको सुधारमा लागिरहेको छु : प्रधानन्यायाधीश

admin

काठमाडौँ, १९ फागुन: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताउनुभएको छ । कानून व्यवसायी क्लबको मुखपत्र ‘कानून’ द्वयमासिक पत्रिकाको वार्षिकोत्सवका अवसरमा आज आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उहाँले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू लागिरहेको बताउनुभएको हो । 

प्रधानन्यायाधीश जवराले सुशासनबाट नै स्वतन्त्र न्यायपालिकाको रक्षा हुने र जनविश्वासमा वृद्धि हुने उल्लेख गर्दै न्याय क्षेत्रमा स्थापित पुरस्कारले यस क्षेत्रमा काम गर्नका लागि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । क्लबले यस वर्षको कानून सम्मान पुरस्कार पूर्वप्रधानन्यायाधीश रामकुमार साहलाई प्रदान गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले रु एक लाख एक हजारको पुरस्कारसहित पूर्वप्रधानन्यायाधीश साहलाई सम्मान गर्नुभएको हो । पूर्वप्रधानन्यायाधीश साहले न्यायपालिकाप्रति अनावश्यक टीकाटिप्पणी हुँदा आफूलाई नराम्रो लाग्ने गरेको सुनाउनुभयो । 

 

कानून उत्कृष्ट पुस्तक पुरस्कार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलाई प्रदान गरिएको छ । उहाँलाई रु ७५ हजार राशिको पुरस्कार प्रधानन्यायाधीश राणाले प्रदान गर्नुभयो । कानून युवा पुरस्कार अधिवक्ता शरद कोइरालाले प्राप्त गर्नुभयो । त्यो पुरस्कारको राशि रु ५१ हजार रहेको छ । कानूनमा उत्कृष्ट लेखनमा १६ जनाले प्राप्त गर्नुभएको छ । उहाँहरुलाई ताम्रपत्रसहित रु पाँच हजार राशिको पुरस्कार प्रधानन्यायाधीश राणाले प्रदान गर्नुभयो । नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले निर्दोष नागरिकलाई थुनेर उसका कुरा सन्नुभन्दा पनि सुनेर मात्र थुन्नुपर्नेमा जोड दिनुभयो । ‘कानून’ पत्रिकाका सम्पादक रत्न खरेलले कानून पत्रिका कानूनका क्षेत्रमा नियमित निस्काले पत्रिका हो । यसको १३१औँ अङ्कसम्म प्रकाशन भइसकेको छ । 

-रासस

 

प्रतिक्रिया