महाशिवरात्रीः कतै धुमधाम, कतै सन्नाटा

admin

काठमाडौं, फागुन २० : महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै परम्परा छ । त्यसक्रममा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।


भारतमा पनि कुम्भमेला लगायतका धार्मिक पर्वलाई पर्यटक तान्नेदेखि देशको प्रतिष्ठासँग जोडेर मनाइने गरे पनि नेपालमा महाशिवरात्रीलाई पर्यटक प्रवद्र्धनका रूपमा अझै व्यवस्थित गर्न बाँकी नै रहेको छ ।

उल्लास छैन अखडामा
पशुपतिनाथतर्फ व्यापक उल्लास सुरु भए पनि कालमोचनघाटको वैरागी, उदासी, सन्यासी र नाथ अखडामा साधुको विजोग भएको छ । यहाँ पर्व अगावै आएका साधु सामल जुटाउन साहु महाजन, कालिमाटी सब्जी मण्डी, लगायतका स्थानमा भिक्षाटनमा हिँडेका छन् ।

वैरागी अखडाका महन्थ रामस्वरुपदास वैष्णवका अनुसार अखडामा निर्माण कार्य भइरहेकोले मुस्किलले चुल्हो बनाइएको छ, तर चुल्होमा के पकाएर खान दिने भन्ने समस्या छ । अखडाकी माता सावित्रीदेवीले पिउने पानीको यहाँ अभाव भएको दुःखेसो व्यक्त गरे । उनले उदारमना दाता समक्ष साधु अखडामा स्तरीय खानपान र पिउने पानीको सहयोग पाइयोस् भनेका छन् ।

उदासी अखडामा भने महन्थ पुष्पदासको पहलमा साधुलाई बिहीवारदेखि नै खानपानको व्यवस्था र रहने बस्ने व्यबस्था गरिएको छ । उनले पनि दातालाई सहयोगको हात बढाउन अपिल गरेका छन् । योपटक भारत प्रयागको कुम्भबाट सिधै साधु यहाँ आएका र मौसमको अदलीवदलीले पर्वको सुरुआत पूर्व नै अखडामा धुनी जगाउनु परेको महन्थ पुष्पदासले जानकारी दिए ।

प्रतिक्रिया