सरकारको कामको रक्षा गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

admin

गोरखा, २० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने र सरकार बाहिर रहेका नेता कार्यकर्ताले सरकारको कामलाई जनतासम्म पु¥याउन प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

सरकारको नेतृत्वमा पुगेर पार्टी परिचालन गर्ने काम प्रभावकारी हुन नसके जनतासँगको सम्बन्ध टुट्न सक्ने भन्दै उहाँले सरकार, पाटी र जनतालाई सँगसँगै जोडर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “पार्टीले आवश्यकताअनुसार कार्ययोजना बनाएर जनतासँग जोडिरहनुपर्छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सरकारको तर्फबाट के आयो त्यसको रक्षा गर्ने, प्रचारप्रसार गर्ने र भ्रष्टाचार हुन नदिने काम आम कार्यकर्ताको पनि होे ।”

विकास निर्माणका काममा सरकारसँग मागपत्र बुझाउने, योजना निर्माण गरी तल्लो तहसम्म पु¥याउने काममा पनि पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पठाएको बजेट सही ठाउँमा खर्च भएको छ कि छैन त्यसको अनुगमन गरी सचेत गराउने कार्य सबै नागरिकको कर्तव्य हुने उहाँको भनाइ छ ।


नेपाली जनताको भाग्य र भविश्य निर्माण गर्ने काम वर्तमान सरकारले मात्र पूरा गर्न सक्ने बताउँदै उहाँले अहिले गरेर देखाउनसके कम्युनिष्टले मात्रै साच्चै विकास गर्नसक्ने रहेछन् भन्ने प्रमाणित हुने उल्लेख गर्नुभयो । “अहिले सरकारले बढी नै मेहनत गर्नु आवश्यक छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अनि मात्र सामाजिक न्यायसहितको समाजवादको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ ।”

प्रतिक्रिया