बन्दीपुरमा पर्यटक प्रहरी

admin

दमौली, २१ फागुन: तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो । गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय तनहँुबाट अस्थायीरूपमा तीन पर्यटक प्रहरी खटाइएकामा अब मन्त्रालयबाट नै पर्यटक प्रहरीको दरबन्दी सिर्जना गरी खटाउन लागिएको पर्यटक प्रहरी काठमाडौँका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार बन्दीपुरमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको हुँदा उनीहरूको सुरक्षा र उनीहरूलाई सहज वातावरण निर्माणका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा आठ पर्यटक प्रहरी खटाइन लागिएको छ । आन्तरिक पर्यटकको सुरक्षालगायतको व्यवस्था स्थानीय प्रहरीले नै गर्ने भए पनि विदेशी पर्यटकका लागि पर्यटक प्रहरी आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय प्रहरीमा भाषागत समस्या हुने र विदेशी पर्यटकले स्थानीय प्रहरीलाई सहजरूपमा आफ्नो कुरा भन्न पनि नसक्ने अवस्था भएकाले विदेशी भाषामा दक्षता भएका पर्यटक प्रहरी खटाइनेछ ।” 

 

पर्यटक प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकलाई विभिन्न भाषामा समन्वय गर्ने, पर्यटकको गुनासो सुन्ने र उनीहरूबाट आएको उजुरी र निवेदनमाथि छानबिन गरी कारवाहीको प्रक्रिया थाल्ने, पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था मिलाउने, होटल, ट्राभल, ट्रेकिङ र ¥याफ्टिङ एजेन्सीको निरीक्षण र अनुगमन गर्ने तथा पर्यटकको विरुद्धमा व्यवसायीबाट आएको गुनासो सुन्नेलगायतका काम गर्नेछन् । 

 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले स्थानीय तह, स्थानीय जनता र व्यवसायीले बन्दीपुरमा रहेका स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर भनेकै पर्यटनले चिनिएको हुँदा यहाँको पर्यटन विकासका लागि गाउँपालिका जस्तोसुकै योगदान गर्न तयार रहेको बताउनुभयो । उहाँले पर्यटक प्रहरीलाई नागरिक र व्यवसायीबाट सहयोग हुनुपर्ने भन्दै गाउँपालिकाको तर्फबाट समेत सक्दो सहयोग गरिने बताउनुभयो । 

 

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंश गुरुङले पर्यटनले मात्र बन्दीपुरको समृद्धि सम्भव भएको भन्दै पर्यटक प्रहरीको स्थापनापछि बन्दीपुर घुम्न आउने पर्यटकले सुरक्षित महसुस गर्ने बताउनुभयो । बन्दीपुरमा वार्षिक पचास हजार बढी विदेशी पर्यटक घुम्नका लागि आउने गरेका छन् । 

 

भवन बनाउन जग्गा दान 

तनहुँको बन्दीपुर गाउँपालिका–१ को भवन निर्माणका लागि सोही वडा निवासी कृष्णराज अधिकारीले आठ आना जग्गा दान गर्नुभएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालयले नयाँ भवन निर्माण गर्न जग्गाको खोजी गरेपछि सोही वडाको नाहाला निवासी अधिकारीले करीब रु २४ लाख बराबरको जग्गा वडा कार्यालयलाई सहयोग गर्नुभएको हो । 

 

उक्त जग्गाको लालपुर्जा अधिकारीले मालपोत कार्यालय तनहुँबाट वडा कार्यालयको नाममा पास गरी हस्तान्तरण गरेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो । वडा कार्यालयका लागि सोही ठाउँका केही व्यक्तिले समेत जग्गा दान दिने प्रतिबद्धता जनाइसकेका छन् । वडाध्यक्ष पोखरेलका अनुसार सुनिल अधिकारीले चार आना, कुलप्रसाद गुरुङले आठ आना दिने बताउनुभएको छ भने कफी सहकारी संस्थाले दुई रोपनी जग्गा दिने प्रतिबद्धता जनाएको छ । छिट्टै ती जग्गा पनि वडा कार्यालयको नाममा आउने पोखरेलले बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “सबै दानवीरले जग्गा उपलब्ध गराएपछि वडा कार्यालयको नाममा चार रोपनी जग्गा प्राप्त हुनेछ ।” वडा कार्यालयले चैत महीनादेखि भवन निर्माण गर्ने लक्ष्य राखेको छ । भवन निर्माणका लागि जिल्ला समन्वय समिति तनहुँले रु ८० लाख गाउँपालिकालाई निकासा पठाइसकेको छ । वडाध्यक्ष पोखरेलका अनुसार गाउँपालिकाबाट रु २० लाख थप गरी एक करोड लागतमा भवन निर्माण हुनेछ । 

 

शहरी विकास मन्त्रालयले सबै वडा कार्यालय एउटै डिजाइनमा बनाउने निर्णय गरेकाले सोही निर्णयबमोजिम नै वडा कार्यालयको भवन निर्माण हुनेछ । वडा कार्यालय सञ्चालनका लागि हाल मासिक रु १० हजार खर्च हुने गरेको छ । नयाँ भवन निर्माणपछि मासिक भाडा बचत हुने पोखरेलले बताउनुभयो । 

-रासस

प्रतिक्रिया