पश्चिम सेती सरकारले बनाउँछ : मुख्यमन्त्री भट्ट

admin

डोटी, २२ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत् परियोजना वर्तमान सरकारले नै बनाउने बताउनुभएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आज आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमको उद्घाटन गर्न त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले बहुचर्चित सो परियोजना वर्तमान सरकारको प्राथमिकतामा रहेको दाबी गर्नुभयो ।

“हामीले केन्द्र सरकारसँग पश्चिम सेती आफ्नै लगानीमा निर्माण गरौँ भनेर भनेका छौँ”, उहाँले भन्नुभयो, “पश्चिम सेती अब भाषणमा हैन काममा देखिनेछ ।” चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने भन्दै हात झिकेपछि डोटीमा फेरि पश्चिम सेतीको चर्चा शुरु भएको छ ।

बुधबार बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमले समग्र जिल्लाभरिमा यसको राम्रै प्रभाव हुनेसमेत मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले थप भन्नुभयो, “डोटीबाट राजधानी खोसियो भनेर चिन्ता नलिनोस् विकास किन भएन भनेर खबरदारी गर्नुहोस् हामी विकास गर्नका लागि तयार छौँ ।”

प्रतिक्रिया