अबको महिला आन्दोलन क्षमता विकासमा केन्द्रित हुन्छ : मन्त्री अर्याल

admin

काठमाडौँ, २४ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा आर्यालले अबको महिला आन्दोलन देशको कार्यकारी प्रधानमन्त्री बन्न सक्ने क्षमताको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले संयुक्तरुपमा ललितपुरमा आयोजना गरेको १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘वर्तमान परिस्थितिमा र महिला समानता’ विषयको विचार गोष्ठीमा उहाँले महिलाले समानुपातिक तथा आरक्षणमा नभई खुल्ला प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुख ओनसरी घर्तीले सफलता र समृद्धि हासिल नै श्रमिक महिला दिवस भएको बताउँदै पुरुषवादी सोचका कारण अन्धविश्वास तथा कुरीति मौलाएको बताउनुभयो । उहाँले संविधानत लैङ्गिक विभेदको अन्त्य भएको बताउँदै महिला कुरामा नभई काममा अग्रभागमा देखिनुपर्ने बताउनुभयो ।

पूर्वउपसभामुख पूर्णकला सुवेदीले नेपालमा मात्र नभई विश्वमा नै महिला आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको निम्ति महिला अब्बल स्थापित भइसकेको बताउनुभयो । उहाँले सफलता, साहस तथा क्षमता प्रस्तुत गरी राज्यका नेतृत्वदायी स्थानमा पुग्नु नै महिलाको पहिचान भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या समितिका सभापति जयपुरी घर्तीले राष्ट्र निर्माण तथा परिवर्तनमा महिला एक अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले संविधानमा महिलाको हक र अधिकार स्थापित भइसकेको र अब क्रमशः क्षमता विकास भइरहेको बताउनुभयो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले महिलको एजेण्डालाई स्थानीय तहदेखि नै एजेण्डाको रुपमा केन्द्रसम्म आउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै अध्यक्षले गरेको निर्णयलाई हस्ताक्षर गर्ने मात्र नभई महिलाको परिवर्तन तथा क्षमता विकास प्रस्तुत गर्ने अवसर आएको बताउनुभयो ।

नेकपाको स्थायी कमिटी सदस्य, नेकपा प्रदेश नं ३ को इञ्चार्ज तथा प्रदेश सदस्य अष्टलक्ष्मी शाक्यले नेपाललगायतका मुलुकमा श्रमिक महिलाले अनेकौँ प्रकारका विभेद भोगिरहनुपरेको बताउनुभयो । उहाँले महिला श्रमिकको भाग्य र भविष्य सुरक्षित हुने प्रकारको बाटोमा महिलाले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका नेता रामेश्वर फुयालले जन्मदेखि मृत्युसम्म नै महिलालाई विभेद हुने गरेको बताउँदै छाउगोठलाई कुनै पनि हालतमा भत्काउनुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले संविधानत प्रमुख र उपप्रमुखमध्येमा महिला एक अनिवार्य व्यवस्था हुनुले महिलाको हक र अधिकार स्थापनाको लागि अहिलेको अवस्थामा सगरमाथाको उचाइसरह उपलब्धि भएको दाबी गर्नुभयो ।
-रासस

प्रतिक्रिया