काठमाडौँ, २४ फागुन : अपहरणमा परेकी भनिएकी नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ की प्रदेश सभा सांसद देवकी मल्ल स्थानीय प्रशासनको सम्पर्कमा आएकी छन् ।बुंगल नगरपालिकाको विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी थिइन् । उनलाई बझाङको बुँगल नगरपालिकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले अपहरण गरेको स्थानीयको भनाइ थियो ।
यद्यपि, सम्पर्कविहीन भएको भनिएको करिब ३ घन्टापछि मल्ल आफूहरुको सम्पर्कमा आएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खबरहबलाई जानकारी दिए । ‘माननीय ज्यू सम्पर्कविहीन भएको भन्ने सूचना आएपछि हामीले उहाँसँग सम्पर्क गर्न खोजेका थियौं,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने, ‘अहिले उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छ । उहाँसँग मेरो टेलिफोनमा कुराकानी भएको छ ।’
प्रजिस सुनारले सांसद मल्ल जिल्ला सदरमुकाम चैनपुर पुग्न लागेको पनि जानकारी दिए ।तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भरबहादुर शाहको अनुसार उनी बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै गर्दा अपहरणमा परेको बताए । उनी बझाङ निर्वाचन क्षेत्र नं। ख बाट प्रदेश सभामा विजयी भएकी हुन् ।