परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको बिदाइ

रिता घिसिंग

बर्दिवास, २९ फागुन (रासस) : महोत्तरी जिल्लाको बलवा नगरपालिकाको धमौराका बासिन्दा इस्लाम (मुुस्लिम) धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान बिदाइ गरेका छन् । माध्यमिकी परिक्रमाको साताँै दिनको विश्राम धमौराको ध्रुवकुण्डमा गरेका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राको शुभकामना व्यक्त गर्दै हार्दिक बिदाइ गरेका हुन् ।

 

मिथिला क्षेत्रको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमा हिन्दूहरुको धार्मिक आस्थाको यात्रा भए पनि मिथिलाको भूगोलसँगको नाताले यो आफ्नै पर्व र उत्सवका रुपमा लिने गरिएको त्यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो सातौँ दिनको विश्रामका लागि ध्रुवकुण्ड पुगेका यात्रीलाई न्यानो स्वागत गरेका इस्लाम धर्मावलम्बीले आज उनीहरुको हार्दिक बिदाइ गरेका हुन् । हजारौँहजार मानवलाई एकै ठाउँमा स्वागत र सद्भाव व्यक्त गर्न पाउने अवसरको आफूहरुले सदुपयोग गरेको धमौराको अधियानपुर बस्तीका सामाजिक अगुवा इस्लाम धर्मावलम्बी अमानुल्ला शेष बताउनुहुन्छ ।

आफ्नो धर्मले सबै धर्मप्रति सम्मान, भाइचारा र पे्रमपूर्ण सम्बन्धका लागि दिँदै आएको उपदेश र निर्देशनले नै यात्रीको स्वागतका लागि आफूहरुलाई अभिप्रेरित गरेको इस्लाम धर्मावलम्बीले बताएका छन् । माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड वरिपरिको बस्तीमा मुस्लिम बसोबास बाहुल्यता भए पनि आपसी मित्रता, सहयोगको आदानप्रदान र भाइचारापनले कहिल्यै धर्मको नाउँमा किचलो नभएको धमौराटोलका बासिन्दा कामेश्वर झाको भनाइ छ ।

धमौरासहितका वरपरका बस्तीमा हिन्दू र मुस्लिम धर्मावलम्बीबीचको आत्मीयता, आपसी सद्भाव, सहयोग आदानप्रदान, सहिष्णुता र सम्मानको भावले नै कुनै पनि सामाजिक समस्याले सहजै निकास पाउने गरेको दुवै समुदायका बूढापाका बताउँछन् । आफ्ना बस्ती वरपरका हिन्दूहरुले आफूहरुको पर्वमा पनि उत्साहवद्र्धक सहभागिता देखाउने गरेका धमौराको रौजाबजारका मन्सुल कवारीको भनाइ छ । धमौराको ध्रुवकुण्ड हिन्दूको र त्यहीँकै रौजामजार इस्लाम धर्मावलम्बीको प्रसिद्ध धार्मिकस्थल रहँदै आएका छन् । दुवै धार्मिकस्थलको विकासमा हिन्दू र इस्लाम धर्मावलम्बीले समान चासो राख्ने गरेका बलवा नगरपालिकाका प्रमुख विनोद यादव बताउनुहुन्छ ।

परिक्रमाको क्रममा हिजो ध्रुवकुण्ड पुग्दा र आज बिहान अघिल्लो गन्तव्य प्रस्थान गर्ने बेला स्थानीय इस्लाम धर्मावलम्बीको आत्मियतापूर्ण न्यानो स्वागत र बिदाइका बेला उनीहरुले देखाएका तत्परता र चासो तत्काल अनौठो लागे पनि एकछिनपछि कुरा बुझ्दा यो मित्रता निकै पुरानो र आत्मीय भएको थाहा पाएर आफू भावविभोर भएको भारतको विहार राज्यको पूर्वीचम्पारणबाट पहिलोपटक परिक्रमामा सहभागी भएका सन्त सत्यस्वरुपले बताउनुभयो ।

आफ्नो देश भारतको कैयौं ठाउँ र अन्य कतिपय ठाउँमा धर्मको नाउँमा हुने झैझगडा र लडाइँ गर्नेहरुका लागि नेपाल र नेपालीको यो सद्भाव आफ्ना लागि यस वर्षको परिक्रमाबाट घरलाने सन्देश बनेको सत्यस्वरुपसहितका भारतीय यात्रीले भावुक हुँदै बताएका छन् ।

परिक्रमाका यात्री आज आठौँ दिनको विश्रामका लागि ध्रुवकुण्डबाट कञ्चनवन प्रस्थान गरेका हुन् । कञ्चनवनमा आज मध्याह्नअघि त्रेतायुगमा सोही ठाउँमा विहार गर्दै रामसीताले अबिर खेलेका सम्झनामा यात्रीले एकआपसमा अबिर दल्दै फागु पर्वको शुरुआत गर्नेछन् ।

फागुन औंशीका दिन मिथिलाबिहारी (श्रीराम) र किशोरीजी (जानकी) का डोला अघि लगाएर जनकपुरबाट विधिवत शुरु गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमामा यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट शुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौं दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् ।

यस यात्रामा पाँच रात महोत्तरी, छ रात धनुषा र चार रात भारतको मधुवनी जिल्लामा विश्राम गरिने परम्परा रहँदै आएको छ । धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारी र जनकपुरको अग्निकुण्ड मठबाट किशोरीजीको डोला अघि लगाउँदै जनकपुरबाट शुरु भएको यात्रामा पहिलो रात धनुषाकै हनुमाननगरमा र दोस्रो एवं तेस्रो दिनको विश्राम यात्रीले भारतको मधुवनी जिल्लाको कलना र फुलहरमा बिताउँछन् । माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको कञ्चनवनमा आठौँ दिनको बासपछि नवौँ दिन धनुषाको पर्वता, दशौँ दिन धनुषाधाम, ११औँ दिन सतोखर, १२औँ दिन औरही हुँदै १३औं दिनको विश्रामका लागि फेरि भारतको मधुवनी जिल्लामै पर्ने करुणा पुग्नेछन् । १४औँ दिनको रात्रिविश्राम मधुवनीकै बिसौलमा गरेपछि फेरि कलनास्थान हुँदै १५औँ दिनको बासका लागि यात्रीको लावालश्कर जनकपुरको रङ्गभूमि मैदान पुग्नेछ । १६औँ दिन बिहान जनकपुरको अन्तर्गृह परिक्रमा सम्पन्न गरेर माध्यमिकी परिक्रमा सकिनेछ । यो यात्रा सकेसँगै हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउनेछन् ।

अघि त्रेता युगमा विवाहपछि रामसीता मिथिलाका विभिन्न ठाउँमा बिहार गर्दै घुमेका विश्वासमा त्यसै यात्राको झलक दिने गरी १८औँ शताब्दीमा मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्रदास बैष्णब बताउनुहुन्छ । नाङ्गा खुट्टाले गरिने यो १५ दिने यात्रा कल्याण र मोक्षदायक हुने हिन्दू जनविश्वास रहँदै आएको छ । १५ दिने यो यात्रामा नेपालतर्फ १०७ र भारतमा २६ किलोमिटरसहित जम्मा १३३ किलोमिटर दूरी पार गरिन्छ ।

प्रतिक्रिया