धुलिखेल, फागुन ३० गते: विप्लब समूहले बन्दको आह्वान गरेपनि राजधानी पूर्वका जिल्लाहरुमा भने असर परेको छैनन् । सवारी साधान निर्वाद रुपमा चलेका छन् । पसल खुलेका छन् । बनेपा नगरपालिकाको अपांग बाल अस्ताल आसपासमा गएराति ठूलो आवाज आएपनि त्यो बम नभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी प्रमूख एसपी रविराज खड्काले जानकारी दिए । “ठूलो आवाज सुन्न साथ प्रहरी त्यस आसपासमा पुगेको थियो । एसपी खड्काले भने “तर बम पड्किएको अवशेष कतै भेटिएन ।”
काभ्रेका प्रमूख जिल्ला अधिकारी कृष्ण बहादुर राउतका अनुसार जिल्लाका विभिन्न चोकचोकमा प्रहरी गस्ती अघिल्लो दिनको तुलनामा बढाइएको छ । त्यस्तै मोबाइल गस्ती समेत बढाइएको छ । जिल्ला भरका चौकीहरुलाई हाइअलटमा बस्न र गस्ती बढाउन निर्देशन दिइएको उनले बताए ।
निजी विद्यालय बन्द
काभ्रेका निजी विद्यालय भने बन्द हुने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अन्तर्गतका विद्यालय बन्द हुने भएका हुन् । प्याब्सन काभ्रेका अध्यक्ष सत्यरानायण श्रेष्ठले विद्यालय बन्द हुने जानकारी दिएका हुन् ।
हिजो साझा विद्यालय बन्द गरेर सहयोग गरिदिन विप्लबका कार्यकर्ताहरुले आग्रह गरेपछि निजी विद्यालयहरु बन्द गर्न संचालकहरु बाध्य भएका हुन् । प्रशासन कार्यालयले भने बन्द नगर्न आग्रह गरेको थियो । प्रमूख जिल्ला अधिकारी राउतले भने सामुदायिक र निजी विद्यालय खुल्ला हुने बताएका थिए ।