चितवन, १ चैत (रासस) : पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता, संस्कृति लगायतका विषयको देशकै पहिलो अध्ययन केन्द्र बनाउन लागिएको हो । वेद, गीता, पूराण जस्ता महत्वपूर्ण ग्रन्थको अध्ययन गर्न सकिने केन्द्रमा ७० लाख भारतीय रुपैंया भन्दा बढीका पुस्तक रहने छन् ।
विद्युतीय पुस्तकालयसँगै सुविधा सम्पन्न साधना र अध्ययन केन्द्र पनि निर्माण गरिने उहाँले बताउनुभयो ।समितिले पूर्व अध्यक्ष डा गुरुप्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन केन्द्र निर्माणका लागि समिति समेत गठन गरेको छ । अध्यक्ष पौडेलले तीन वर्षभित्रमा सरकारी र दाताको झण्डैं रु पाँच करोडको लगानीमा अध्ययन केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट गाउँपालिका–५ मणिमुकुन्देश्वर धार्मिक पार्कसँगै अध्ययन केन्द्र निर्माण हुने बताउनुभयो । देशकै पूर्वीय दर्शन अध्ययन केन्द्रका रुपमा देवघाटलाई स्थापित गर्ने समितिको उद्देश्य रहेको उहाँले बताउनुभयो । यसले धार्मिक पर्यटक आकर्षण गर्न समेत सहयोग पुग्ने घिमिरेले बताउनुभयो ।
ठोरीमा आँखा उपचार केन्द्र
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल आँखा उपचार केन्द्र ठोरीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पर्सा जिल्लाको ठोरीको गौतमनगरमा रहेको आँखा उपचार केन्द्रमा निर्माण गरिएको अन्तरङ्ग र शल्यक्रिया भवन एवं कर्मचारी आवास भवनको उद्घाटन गरिएको हो ।
अन्तरङ्ग र शल्यक्रिया भवनको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के र सेवा क्यानडा तथा सेवा फाउण्डेशनका सञ्चालक सदस्य डा मार्टिन स्पेन्सरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । त्यसैगरी कर्मचारी आवास भवनको सङ्घका केन्द्रीय कोषाध्यक्ष मास्के र ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।