खाद्यान्न बालीमा आत्मनिर्भर हुँदै

admin

राँझा, ३ चैत : प्रदेश नं ५ खाद्यान्न बालीमा आत्मनिर्भर हुन थालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्री आरती पौडेलले बाँकेको नेपालगञ्जमा आज पत्रकार सम्मेलनमार्फत मन्त्रालयको एकवर्षे प्रगति विवरण सार्वजनिक गर्दै तीन वर्षभित्र खाद्यान्न बालीमा आत्मनिर्भर भई निर्यात गर्ने, दलहनको आयातमा कमी ल्याउने, मुसुरोको निर्यात ३० प्रतिशतले बढाउने र तरकारी तथा फलफूलको आयात घटाउने लक्ष्य रहेको बताउनुभयो । 

 

आगामी तीन वर्षभित्रै दूध, मासु, माछा र अण्डामा आत्मनिर्भर गराउने, करार खेतीतर्फ कृषकलाई आकर्षिक गर्दै बृहत उत्पादन क्षेत्र विकास गर्ने, प्रशोधन तथा बजारीकरणका कार्यक्रमलाई प्राथमिकता दिने, सामूहिक र सहकारीमार्फत गरिने कृषिलाई प्रोत्साहन गर्ने, सहकारी विकास कोष स्थापना गर्ने, प्रशोधन र बजारीकरणका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्ने मन्त्रालयले लक्ष्य राखेको उहाँले उल्लेख गर्नुभयो । 

 

प्रदेश नं ५ मा ४५.६ प्रतिशत प्रादेशिक कूल गार्हस्थ्य उत्पादन कृषि क्षेत्रले ओगटेको छ । चार लाख चार हजार ५४१ हेक्टरमा खेती गरिन्छ । सिँचित क्षेत्र ३९.६९ प्रतिशत रहेको छ । धान र तेलहन उत्पादमा सातवटै प्रदेशमा पहिलो नम्बरमा पर्छ । आलु र मकै उत्पादनमा चौथो स्थानमा रहेको छ । विषादीरहित तरकारी उत्पादनमा जोड दिँदै भारतबाट आउने तरकारीमा कडाइ गर्ने, नाकामा पर्ने पाँचवटै जिल्लामा एउटा–एउटा क्वारेन्टाइन राख्ने योजना रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । 

 

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार, एक जनाले वर्षमा दूध ९१ लिटर खानुपर्छ । प्रदेश नं ५ मा एक जनाले एक वर्षमा ७० लिटर दूध खाइरहेका छन् । ४८ अण्डा खानुपर्नेमा ३३, १४ किलो मासु खानुपर्नेमा १३ किलो खाइरहेका छन् । मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को कूल बजेट चार अर्ब सात करोड ५१ लाख ४७ हजार रहेको छ । हालसम्म १७.३ प्रतिशत खर्च भएको छ । कानून र कर्मचारी अभावले खर्च कम भएको मन्त्री पौडेलले बताउनुभयो । 

-रासस

प्रतिक्रिया