सडक र मठमन्दिर क्षेत्रका बेसहाराले पाए आश्रय

admin

काठमाडौँ, ३ चैत : नेपाल प्रहरीले पछिल्लो चार महीनामा काठमाडौँ जिल्लाबाट विभिन्न सङ्घसंस्थाको सहयोगमा २०७ बालबालिका र वृद्धवृद्धाको उद्धार गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई मानवसेवा आश्रम, हिमाली आश्रमलगायत विभिन्न बाल संरक्षण गृह तथा पुनःस्थापन गृहमा राखिएको छ । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लागू भएपछि उद्धार गरिएकामा १७२ वृद्धवृद्धा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

सडक र मठ–मन्दिर क्षेत्रमा वृद्धवृद्धा तथा बालबालिका रहने अवस्था अन्त्य गर्ने अभियानमा लागेको बताउँदै उहाँले यस अभियानमा हातेमालो गर्न सबैमा अनुरोध गर्नुभएको छ । परिसरले पशुपति क्षेत्र विकास कोष, मानवसेवा आश्रम र विभिन्न सङ्घसंस्थाको सहकार्यमा ११ पटक सडकमा पुगेर उनीहरुको उद्धार गरेको हो । अहिले सडकमा बेवारिसे अवस्थामा बस्ने व्यक्तिको सङ्ख्यामा कमी आए पनि अझै सडकमा देखिने गरेकाले अभियानलाई प्रभावकारी बनाउने योजना अघि सारेको परिसरका प्रमुख वसन्त लामाले बताउनुभयो ।

“कतिपय भारतबाट बच्चासहित आएका पनि पाइयो, उनीहरु सडकमा भिख मागेर बसिरहेका फेला परे, संविधानले यसरी मागेर हिँड्नसमेत रोक लगाएकाले कानून कार्यान्वयका लागि सबै एकजुट हुनुपर्छ, यस्तै कार्यक्रमका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको हो”, प्रमुख लामाले भन्नुभयो । उहाँले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी अहोरात्र खटिएकाले समुदायको साथ मिल्यो भने अपराध नियन्त्रण गर्न सकिने उल्लेख गर्दै प्रहरीको विषयमा गुनासा भए पनि सोझै खबर गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । अभियानअन्तर्गत घरघरमा पर्चा वितरण गर्नेदेखि समुदाय र स्कूल सचेतना कार्यक्रम अघि बढाएको प्रहरी परिसरले जनाएको छ ।

गएको कात्तिक ११ गते प्रहरीले देशैभरि लागु हुने गरी ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लागू गरेको थियो । त्यसयता काठमाडौँ जिल्लाको सुरक्षा हेर्ने प्रहरी परिसरले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत एउटा जिल्ला समिति, ११ पालिका समिति, १३८ वडा समिति, ७०३ विद्यालय सम्पर्क समिति, १३२ टोल समिति गठन गरेको र ४९० भन्दा बढी विद्यालय सम्पर्क कार्यक्रम गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५३ स्थानीय तहमध्ये ७४७ तहमा समिति निर्माण गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । प्रहरीले उक्त अभियानकै क्रममा पहिलो चरणमा काठमाडौँमा १० केन्द्रीय अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्ने तथा घरघरमा सचेतनामूलक स्टिकर टाँस्ने योजना अघि सारेको छ । आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा गठित समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतको जिल्ला समितिको बैठकले अभियान प्रभावकारी हुँदै आएको निष्कर्ष निकालेको छ ।

बैठकले शैक्षिक क्यालेन्डरमा प्रहरी सचेतना कक्षा राख्न स्कूललाई आग्रह गर्ने, सडक व्यवस्थापन कार्ययोजना बनाएर अघि बढ्ने, हिंसा रोक्न र घरेलु मदिरा नियन्त्रणका लागि सचेतना अभियान चलाउने, विभिन्न क्षेत्रमा चेतनामुलक पर्चा वितरण गर्ने, सडक बत्ती राख्न हरेक घरलाई आग्रह गर्ने र विभिन्न सङ्घसंस्थाको सहकार्यमा सूचना बोर्ड राख्ने निर्णय गरेको छ । प्रजिअ आचार्यले यो अभियान प्रहरीको मात्रै नभएकाले सबैको हातेमालो जरुरी रहेको उल्ल्ेख गर्नुभयो ।
-रासस

प्रतिक्रिया