नेपालगञ्ज प्लाष्टिमुक्त बनाइने

admin

नेपालगञ्ज, ३ चैत: नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिकमुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि आवश्यक कार्यविधि बनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको छ । नगरसभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ लगायतका प्रस्तावमाथि व्यापक छलफल भएको थियो ।

आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन र आव २०७४÷७५ को मौज्दात बजेटमध्ये सम्बन्धित वडा कार्यालयबाट विभिन्न शीर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटमाथि थप छलफल गरी एक हप्तापछि पुनः बस्ने सभाबाट स्वीकृत गर्ने तयारी गरिएको छ । सभामा उपमहानगरपालिकाअन्तर्गत सुशासन समिति, विधायन समिति र लेखा समिति नियमावली बनाउने प्रस्ताव पनि पेश भएको छ । यस्तै सभा बैठकमा नगरको ट्राफिक, अटोरिक्सा, ठेला व्यवस्थापनलगायतका विषयले पनि प्रवेश पाएको छ भने यी विषयमा थप छलफल गरी आगामी सभाबाट स्वीकृत गरिने भएको छ ।

आफ्नो वडा कार्यालय भवन नभएका वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति कार्यालयसँग रकम माग गर्ने प्रस्ताव पनि छलफलमा ल्याइएको छ । छलफलका विषयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगरप्रमुख डा धवलशम्शेर राणाले विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रतिक्रिया