न्यायालयको भ्रष्टाचार रोक्ने घोषणा

admin

काठमाडौँ, ४ चैत : नेपाल बार एशोसिशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो मुख्य कार्यसूची भएको बताएका छन् । नेपाल सञ्चार केन्द्रले आज बार निर्वाचनको सन्र्दभमा आयोजित ‘बारको निर्वाचन र अबका मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा एशोसिएशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नै आफ्नो मुख्य कार्यसूची भएको बताउनुभएको छ । 

कार्यक्रममा बारमा प्रगतिशी, पेशागत तथा समावेशी कानून व्यवसायी समूहतर्फका अध्यक्ष पदका उम्मेदवार चण्डेश्वर श्रेष्ठले न्यायालयमा बढेको भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । ‘‘अहिले न्यायालयमा व्यापक भ्रष्टाचार मौलाएको छ, न्यायाधीश नियुक्ति र कार्यसम्पदानमा नै भ्रष्टाचार रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘अबको बारको दायित्व न्यायालयमा देखिएको भ्रष्टाचार नियन्त्रण गर्नु हो ।’’ उहाँले न्यायाधीशको नियुक्ति व्यक्तिगत र राजनीतिक हुँदा स्वतन्त्र हुन नसकेको धारणा राख्नुभयो । उहाँले न्यायाधीशको नियुक्ति न्यूनतम योग्यतामात्र नभएर प्राज्ञिक र नैतिक चरित्रवान हुनुपर्नेमा समेत जोड दिनुभयो । 

 

बृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिलबहादुर पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । ‘‘कुन न्यायाधीशको मुद्दा कुन परेको छ भनेर थाहा पाएपछि कस्तो फैसला आउँछ भन्ने थाहा हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले न्यायाधीश नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्दछ ।’’ कार्यक्रममा प्रगतिशील समूहका तर्फबाट महासचिव पदका उम्मेदवार सुरेन्द्रबहादुर थापाले बार एशोसिएशनले मुलुक र समाज परिवर्तनको अग्रणी भूमिका खेलेको उल्लेख गर्दै आफूले बारलाई अझ प्रभावकारी बनाउने बताउनुभयो । 

 

लोकतान्त्रिक समूहका महासचिव पदका उम्मेदवार लिलामणि पौडेलले स्वतन्त्र न्यायपालिका निर्भिक भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायालयभित्रको भ्रष्टाचारलाई रोक्न आफू प्रतिबद्ध भएको भन्दै न्यायाधीशलाई गोलाप्रथाबाट पेसी तोक्ने प्रथाको अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रगतिशील समूहका महिला उपाध्यक्ष पदका उम्मेदवार रक्षा बस्यालले महिलाका मुद्दालाई आफूले उठाउने बताउनुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता रुद्र नेपालले अबको बारले समाजवादउन्मुख न्यायप्रणाली विकास गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायपालिकाभित्रको विसङ्गति विकृतिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । यहि चैत १६ गते देशभरी नयाँ नेतृत्वका लागि बार एशोसिएशनको निर्वाचन हुँदैछ । 

-रासस

प्रतिक्रिया