आठौँ राष्ट्रिय खेलकूद चैतमै

admin

राँझा, ४ चैत: राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताउनुभएको छ । नेपालगञ्जमा आज ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भन्नुभयो–“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।” यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उहाँले जानकारी दिनुभयो । यही चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिनुभयो ।

“राष्ट्रिय खेलकूद प्रतियोगिता दुई–दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न लागि परेका छौँ ।” आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न सदस्य सचिव विष्टले आग्रह गर्नुभयो । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालभित्र गर्ने नेपाल सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्का कर्मचारी र खेलाडीको चाहना रहेको उहाँले उल्लेख गर्नुभयो ।

“प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता गर्नुपर्छ भन्ने सोचका साथ प्रतियोगिताको मिति घोषणा गरेका हौँ । यसलाई सम्पन्न गर्ने अभिभारा पनि मैरै हौ”, उहाँले भन्नुभयो । जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा रु २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिनुभयो । “धर्ती खसे, समु्रदै पसे के गर्ने भन्ने मात्रै हो, अरु कुनै समस्या छैन ।” उहाँले भन्नुभयो । नेपालगञ्जमा चैतमा अत्यधिक गर्मी हुने भएकाले अधिकांश खेल साँझ र बिहानमा खेलाइने तयारी गरिएको उहाँको भनाइ छ । प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणकै कारण प्रतियोगिता रोक्नुपर्ने नभएको बताउनुभयो । उहाँका अनुसार ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।
-रासस

प्रतिक्रिया