तेइस परीक्षार्थी एसइई परीक्षा दिनबाट वञ्चित

admin

भद्रपुर, ४ चैत: शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको छ । परीक्षार्थीमध्ये सात हजार ९३८ छात्रा र सात हजार ३३६ छात्र छन् । कार्यालयका उपसचिव रामप्रसाद ढुङ्गानाका अनुसार नियमिततर्फ १५ हजार ३०१ र ग्रेड वृद्धितर्फ ३८८ जना परीक्षार्थी छन् । झापामा यसपटक कारागारबाट तीन कैदीबन्दीले एसइई परीक्षा दिने भएका छन् । झापाका १५ स्थानीय तहमा ५३ परीक्षा केन्द्र रहेका छन् विर्तामोडस्थित महेन्द्र रत्न माविमा भने ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिनेछ । 

प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा राखिएको र उत्तरपुस्तिका भने सम्बद्ध केन्द्रमा पुगिसकेको कार्यालयका उपसचिव ढुङ्गानाले बताउनुभयो । उहाँले परीक्षा केन्द्रका केन्द्राध्यक्ष तोक्न भने बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तयारी लगभग पूरा भइसक्यो, भोलिसम्ममा केन्द्राध्यक्ष टुङ्ग्याउँछौँ ।” सात स्थानीय तहका २३ विद्यार्थी राजश्व नबुझाएका कारण परीक्षा दिनबाट वञ्चित हुने भएका जिल्ला शिक्षा समन्वय एकाइ समितिको तथ्याङ्क देखिएको छ । राजश्व नबुझाउनेहरुमा पशुपति मावि बाह्रदशी गाउँपालिकाका सात, मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा माविका तीन, मेची जनसाधारण माविको एक, भानु माविको एक, जनता मावि एक, शिवसताक्षी नगरपालिकास्थित भानु माविका तीन, भवगती माविका एक, दमक नगरपालिकास्थित पशुपति संस्कृति मावि दमकको एक, बुद्धशान्ति गाउँपालिकाको गणेश माविका दुई र अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविका दुई विद्यार्थी रहेका छन् । 

 

बाह्रदशी गाउँपालिकास्थित पशुपति माविका प्रधानाध्यापक विद्यासागर चौधरीले विवाह भएर गएका र कोही वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका कारण परीक्षा दिन नआउने भएको दाबी गर्नुभयो । काँकडभिट्टा माविका प्रधानाध्यापक तुलसी निरौलाले पनि तीनै जना विद्यार्थी विवाह भएर गएका कारण परीक्षामा सामेल नहुने बताउनुभयो । उहाँले पटकपटक फोन गरेर फर्म भर्न बोलाउँदा परीक्षा नदिने भनेर विद्यार्थीबाट जवाफ पाएको बताउनुभयो । त्यसैगरी छ विद्यार्थी विद्यालयमा अनुपस्थित, दुईको मृत्यु र एक जना बिरामी परेर परीक्षा दिन नसक्ने उपसचिव ढुङ्गानाले बताउनुभयो । 

-रासस

प्रतिक्रिया