अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु

admin

मैमाना, अफगानिस्तान, ४ चैत : अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् । अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ । मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ । श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन् ।

अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो । आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु आठ जना घाइते भएको सरकारी सेनाका एक जना प्रवक्ता हानिफ रेजैले जानकारी दिए ।

यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राती आक्रमण गरेका थिए । आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु दश जना घाइते भएका थिए । सोही घटनाको जवाफी कारबाही स्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो ।

प्रतिक्रिया