महिला सामूहिक लसुन खेतीतर्फ

शर्मिला गुरुङ

घोराही, ५ चैत : दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् ।

मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताउनुभयो । समूहको करीब रु १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिझम)को रु ११ लाख ५५ हजारमा लसुन र प्याजखेती थालिएको हो । टोलका २२ महिला आवद्ध सो समूहले लसुन र प्याज खेती गर्न दुई ट्रयाक्टर, एउटा पम्पसेट, डिजिटल काँटा एउटा र १० स्प्रे ट्याङ्की खरीद गरेको छ ।

यसअघि गरिएको च्याउ खेतीबाट मनग्य आम्दानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताउनुभयो । “एक्लाएक्लै काम गर्दा व्यावसायिक रुपमा जान समस्या हुन्छ । रकम र समय बढी खर्च हुन्छ”, उहाँले भन्नुभयो । समूहमा लागेपछि आफ्नो दैनिकी चलाउन सजिलो भएको उपाध्यक्ष आशा चौधरी बताउनुहुन्छ । समूहमा जम्मा गरिएको रकमले घरखर्च चलाउन सजिलो भएको छ ।

समूहमा लागेर च्याउ, लसुन र प्याज खेती मात्र होइन सामूहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामूहिक रुपमा गर्दै आएको उनीहरुले बताए । सो रकम समूहमा जम्मा गरिने र आवश्यक परेको समयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्ने गरिएको चौधरीले बताउनुभयो । महिलालाई सामूहिक रुपमा खेती गर्न सहयोग गरिएको साना कृषि आयस्तर परियोजनाका कार्यक्रम संयोजक रिप्रसाद शर्माले बताउनुभयो । आयोजनाले हाल च्याउ, लसुन, मसुरो, माछापालनलगायत क्षेत्रमा रु ३३ करोड लगानी गरेको छ । आयोजनाले समूहलाई ८० देखि ९० प्रतिशतसम्म, सहकारीलाई अधिकतम ६५ प्रतिशत तथा व्यक्तिलाई ५० देखि ६५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ । रासस

प्रतिक्रिया