ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा

admin

गोरखा, ५ चैत : गोरखामा पुनःनिर्माणमा खटिएका प्राविधिकले जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयमा लगाइएको ताला फुटाएर कार्यालय सञ्चालन गरिएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकले सोमबार कार्यालयमा तालाबन्दी गरेका थिए । गत दुई हप्तादेखि विभिन्न दबाबमूलक कार्यक्रमसहित आएका प्राविधिकले सरकारले माग सम्बोधन नगरेको भन्दै जिल्लामा पुनःनिर्माणको काममा अवरोध गर्दै आएका थिए ।

प्राविधिकले लगाएको ताला तोडी कार्यालय नियमित काम गर्ने वातावरण बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकले यसअघि दिँदै आएको सेवा सुविधा कटौती भएपछि पुनःउपलब्ध गराउनु पर्ने चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । आफ्ना माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो ।

प्राविधिले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । प्राविधिकको आन्दोलनका कारण भूकम्प पीडितको किस्ता सिफारिस, घर नापजाँचलगायका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ ।

लाभग्राही भूकम्प पीडितले घर बनाउँदा प्राविधिक नापजाँचका लागि नआएपछि समस्या भएको बताएका छन् । यता प्राविधिकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण यही १५ गतेदेखि अन्तिम पटक गर्न लागेको पुनःसर्वेक्षणको काममा समेत आफूहरु नजाने बताएका छन् । उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाएर कामकाज ठप्प पार्दै आएका थिए । गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १६ इञ्जिनीयर, ७४ सब इञ्जिनीयर र ७१ असिस्टेन्ट सब इञ्जिनीयर कार्यरत रहेका छन् ।
-रासस

प्रतिक्रिया