नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा

admin

काठमाडौँ, ६ चैत : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाख २ गते नवौँ राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा गर्ने भएको छ । उक्त प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला समावेश गरिने छ ।

यहाँ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीलाई सम्पन्न गर्न कुलपति केके कर्माचार्यको अध्यक्षतामा ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिइयो । कुलपति कर्माचार्यले प्रदर्शनीका लागि सहभागी गराइने कलाकृति दुई वर्षभित्र रचना गरेको र राष्ट्रियस्तरको प्रदर्शनीमा समावेश नभएको हुनपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा सिर्जना पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक विधामा एक जनालाई नगद रु ६० हजार राष्ट्रिय ललितकला पुरस्कार र दुई जनालाई नगद रु २५ हजारको विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक प्रदेशबाट एक÷एक जनालाई नगद रु २५ हजारको प्रदेश विशेष पुरस्कार प्रदान गरिने छ । साथै नगद रु २५ हजारको ललितकला लेखन पुरस्कार तथा सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया