जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो

admin

काठमाडौँ, ६ चैत: जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा मङ्गलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिँदै गएको बताएका हुन् । जल तथा ऊर्जा आयोगका सहसचिव डा ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताउनुभयो । “जलवायु परिवर्तनका कारण प्रतिवर्ष ०.०५६ सेल्सियस तापक्रम बढ्दै गएको छ”, उहाँले भन्नुभयो । जलवायु परिवर्तनका कारण हिमतालहरुमा पानीको सतह बढ्दो क्रममा रहेको उहाँको भनाइ थियो । 

स्मल अर्थ नेपालका अनुसन्धानकर्ता पियुष दाहालले तापक्रम बढ्नु र सुक्खा क्षेत्र बढ्नु जलवायु परिवर्तनको कारण भएको बताउनुभयो । “जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा वर्षा कम हुँदै गएको छ”, उहाँले भन्नुभयो । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका संयोजक महेन्द्रबहादुर गुरुङले राज्यको सचेतना बढाउन, चुनौतीको बारेमा छलफल गर्न, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न सप्ताह मनाइएको जानकारी दिनुभयो । 

 

नेपाल वातावरण पत्रकार समाजका अध्यक्ष सुवोध गौतमले नेपाली सञ्चारमाध्यममा वातावरण प्रदूषण र जलवायु परिवर्तनका बारेमा कलम चलाउने पत्रकार कमी रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली सञ्चारमाध्यममा राजनीतिक मुद्दाले प्राथमिकता पाएको वर्तमान अवस्थामा वातावरणका मुद्दालाई राजनीतिसँग जोडेर लेख्न पत्रकारलाई सुझावसमेत दिनुभयो । वरिष्ठ पत्रकार विकास थापाले जलस्रोतको बारेमा नेपाली सञ्चारमाध्यममा धेरै मुद्दा उठाउन सकिने उल्लेख गर्नुभयो । सरकारले विश्व पानी दिवस तथा विश्व मौसम दिवसका अवसरमा यही चैत ३ गतेदेखि नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ अन्तर्गत विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । 

-रासस

प्रतिक्रिया