होटलमा बस्छन् अस्पतालका चिकित्सक

रिता घिसिंग

गलकोट, ६ चैत (रासस) : लामो समयदेखि चिकित्सकको अभाव खड्किरहने धवलागिरि अञ्चल अस्पताल बागलुङमा अहिले २२ चिकित्सक सेवारत छन् । अञ्चल अस्पतालको इतिहासमै सबैभन्दा धेरै चिकित्सक सेवारत हुँदा अस्पतालमा चिकित्सकलाई आवासको व्यवस्थापन गर्न भने अस्पताललाई धौधौ परेको छ । अस्पतालमा सेवारत सबै चिकित्सकलाई आवासको व्यवस्था गर्न एक आवास निर्माणको चरणमा छ भने अर्को आवास निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा आवास अपुग भएको अस्पतालले जनाएको छ ।

हालै मात्र अञ्चल अस्पतालमा आएका चार चिकित्सकलाई आवास हस्तान्तरण नहुञ्जेल सदरमुकामस्थित होटलमा राखिएको छ । “चिकित्सक आवास तयार छ, चिकित्सकहरु आउनुभएको छ”, अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले भन्नुभयो, “हस्तान्तरण नगर्दै चिकित्सक राख्न मिलेन त्यसैले चार चिकित्सकलाई सुविधासम्पन्न होटलमा राखेका छौँ ।” शर्माले अस्पतालमा सेवारत सबै चिकित्सकलाई सुविधासम्पन्न आवासको व्यवस्था गर्न थालिएको भन्दै एक हप्ताभित्र सबै चिकित्सकलाई होटलबाट अस्पतालको आवासमा स्थानान्तरण गरिने जानकारी दिनुभयो ।

साविक धवलागिरि अञ्चलकै एक मात्र सुविधासम्पन्न अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक आएपछि बिरामीलाई सहज भएको छ । लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव खड्किरहने अस्पतालमा पछिल्लो समय सो सेवा उपलब्ध भएपछि अस्पतालको मुहारै परिवर्तन भएको छ । हाल अस्पतालमा आधा दर्जन बढी विशेषज्ञ चिकित्सकसहित मेडिकल चिकित्सकले सेवा प्रदान गर्न थालेपछि अस्पतालमा सेवा लिन आउने बिरामीसमेत बढेका छन् ।

अस्पतालले स्त्रीरोग विशेषज्ञ डा सौगात कोइराला, हाडजोर्नी रोग विशेषज्ञ डा नवीन पौडेल तथा फिजिसियन डा प्रदीप श्रेष्ठलाई होटल पिसप्यालेसमा राखिएको छ भने मेडिकल अधिकृत दीपकबाबु मगरातीलाई आरती होटलमा राखिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले प्रत्येक दिनको रु ७०० होटललाई तिरेर चिकित्सक राखेको हो । भवन निर्माण सम्पन्न भइसकेको र हस्तान्तरण गर्न कुनै समस्या नरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख नारायण भण्डारीले बताउनुभयो ।

अस्पतालको सुविधासम्पन्न ‘बी’ ब्लक निर्माणको अन्तिम चरण भएकाले आगामी दिनमा चिकित्सक आवासको कुनै समस्या नहुने अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए ।

सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको छ ।

प्रतिक्रिया