दर्ता हतियारबारे सोधखोज गर्दै प्रशासन

admin

बाँके, ६ चैत: जिल्लास्थित सुरक्षा निकायले अवैध हतियारबारे सोधखोज गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले हतियार राख्न इजाजत लिएका व्यक्तिसँग सोधखोज गर्दै पटकपटक नवीरकणका लागि सूचना जारी गर्दै आएको छ । बाँकेमा हालसम्म दर्ता भएका विभिन्न किसिमका हतियारमध्ये ६०३ नवीकरण भएका छन् । अझै १९५ थान नवीकरण हुन बाँकी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । इजाजत लिएकामध्ये १९५ थान हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे सोधखोज भइरहेको उहाँले बताउनुभयो । “हतियारका धनीलाई नवीकरणका लागि ३५ दिने सूचना जारी गरिसकेका छौँ”, भुजेलले भन्नुभयो । 

यही चैत १ गतेदेखि ३५ दिनभित्र अवैधरूपमा हतियार बुझाउन अपिल गर्दै प्रशासनले समयभित्र बुझाउनेलाई कुनै कारवाही नहुने स्पष्ट पारेको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराइ वा इजाजतप्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले मुलुकभर कोही कसैले हतियार वा खरखजाना राखेको भए तोकिएको समयमा बुझाउन प्रशासनले आग्रह गरेको छ । 

 

आफूसँग भएको हतियार नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने प्रशासनले जनाएको छ । इजाजतसहितका हतियारबारे सम्बन्धित व्यक्तिलाई सूचित गरेर सोधखोज भइरहेको प्रजिअ भुजेलले बताउनुभयो । “हतियार बेच्नुपरे प्रशासनमै आउनुपर्छ”, उहाँले भन्नुभयो, “नवीकरण नभएका हतियारबारे सोधखोज गरिरहेका छौँ । हतियार धनी नवीकरणका लागि आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।” 

 

बाँकेमा दर्ता भएका हतियार बाहिरी जिल्लाबाट पनि नवीकरण गर्न सकिने भएकाले यहाँबाट नवीकरण नभएको हुनसक्ने उहाँको भनाइ छ । “भरुवा बन्दुक स्थानीय तहबाट नवीकरण हुने र जिल्ला बाहिरबाट पनि नवीकरण गर्न सकिने व्यवस्था छ । यहाँबाट नवीकरण नगरेर अन्य जिल्लाबाट पनि गरेको हुन सक्छ, त्यस विषयमा पनि हामीले बुझिरहेका छौँ”, प्रजिअ भुजेलले भन्नुभयो । 

 

हातहतियार र खरखजाना बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेका कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै किसिमको कारवाही नगरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । तोकिएको समयमा पनि नवीकरण नगरेर अवैध हातहतियार राखेको पाइएमा कानूनबमोजिम कारवाही हुने प्रशासनले स्पष्ट पारेको छ । खुला सीमासँग जोडिएको बाँकेमा सुरक्षाका लागि भन्दै सामान्य भरुवादेखि आधुनिक किसिमका बन्दुकसम्म दर्ता छन् । 

 

नियमानुसार हतियार राख्नेले आर्थिक वर्ष सकिएको ३५ दिनभित्रमा हतियारको नवीकरण गराउनुपर्छ । बढीमा दुई वर्षसम्मका लागि अग्रिम नवीकरण गराउन पाउने कानूनी व्यवस्था छ । हतियारको नवीकरण नियमित गर्न सम्बन्धित व्यक्तिलाई सूचित गरिएको प्रजिअ भुजेलले बताउनुभयो । नियमित नवीकरण नभएका हतियारको जरिवाना चर्को लाग्ने भएकाले धेरैले नवीकरण गर्न छाडेको हुनसक्ने प्रशासनले जनाएको छ । 

 

बन्दुकको प्रकार र इजाजतको किसिमले बन्दुकको नवीकरण र जरिवाना रकम निर्धारण हुन्छ । लामो समयदेखि नवीकरण नगरी राखिएको हतियार अवैध हुने प्रजिअ भुजेलको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले पटकपटक नवीकरणका लागि सूचित गरिरहेका छौँ, कसैसँग नवीकरण नगरिएको हतियार भेटिएमा हातहतियार खरखजाना ऐनअनुसार कारवाही गर्छौं ।” उहाँले हतियार धनीलाई तोकिएको समयभित्र हतियार बुझाउनसमेत आग्रह गर्नुभएको छ । 

-रासस

प्रतिक्रिया