जिल्ला अस्पताल प्रविधिमैत्री बन्दै

शर्मिला गुरुङ

बैतडी, ७ चैत : जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष्टले बताउनुभयो ।

आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उहाँको भनाइ थियो । अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा हातले लेखेर बिरामीलाई सेवा दिनुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ थियो । यो कार्यले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको र आर्थिक पारदर्शिता पनि भएको छ ।

अस्पतालमा भिडियो एक्सरेका लागि पनि अहिलेको भन्दा गुणस्तरीय नयाँ उपकरण आएको तर जडान गर्न मात्र बाँकी छ भने विद्युतीय हाजिरी र इन्टरकम फोन पनि जडान गरिएको छ । अस्पताल प्रविधिमैत्री बन्दा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन सजिलो भएको अस्पतालका मेडिकल अधिकृत डा वसन्तराज जोशीले बताउनुभयो ।

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेलेर घर फर्किने क्रममा सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ठूलाखोला भन्ने स्थानमा ट्याक्टरबाट खसेर उहाँकोे मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ६ बजेतिर से१त ७६४९ नंको ट्याक्टरको ट्रालीबाट ऐरीले हामफाल्दा गम्भीर घाइते भएकी ऐरीलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । चालक दीपक डगौंरा र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ । रासस

प्रतिक्रिया