विज्ञान प्रयोगशाला भवन निर्माणका लागि सहयोग

रिता घिसिंग

दमौली, ७ चैत (रासस) : तनहुँ व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशाला भवन बनाउनका लागि लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

विज्ञान विषय पढाइका लागि क्याम्पसमा प्रयोगशाला भवन आवश्यक भएपछि फाउण्डेशनले सो रकम सहयोग गरेको हो । एक हजार ७०० वर्ग मिटरमा फैलने भवन चार तलाको हुनेछ । २०७६ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि पनि क्लबले क्याम्पस भवन निर्माणका लागि ५० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।

उक्त भवनको बुधबार लायन्स क्लब अफ नेपाल ३२५ वि १ का डिष्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठले उद्घाटन गर्दै लायन्सको सहयोगबाट मात्रै भवन निर्माण सम्पन्न नहुने भएकाले स्थानीयवासीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसको पूर्वाधार निर्माणमा नगरपालिकाको सधँै सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सामुदायिक क्याम्पसको भौतिक एवं शैक्षिक विकासका लागि समुदायको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले गुणस्तरीय शिक्षा प्रदानका लागि प्रयोगशाला भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्राविधिक शिक्षाका लागि आधारशीला तयार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विज्ञान विषयको अत्यधिक माग भएकाले प्रयोगशाला भवनको आवश्यकता खड्किएको थियो । लायन्स क्लबले सहयोग गरेर ठूलो गुन लगाएको छ ।”

रु दुई करोड ४० लाखको लागतमा निर्माण हुने सो भवनका लागि अपुग रकम स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकारसँग माग गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक क्याम्पस भएको हुनाले समुदायका व्यक्तिसँग समेत सहयोगको आग्रह गरिनेछ ।

भवन निर्माणका लागि क्याम्पसको तर्फबाट रु एक करोड ३२ लाख लागत सहभागिता रहनेछ । जसमध्ये क्याम्पसले रु ४६ लाख जम्मा गरिसकेको छ भने बाँकी रु ८६ लाख अपुग छ । प्रमुख हड्खलेले भन्नुभयो, “बाँकी रकम जुटाउन क्याम्पसलाई चुनौती छ तर पनि सहयोग रकम जुटाउन क्याम्पस सफल हुने विश्वास लिएका छौँ ।”

विसं २०४४ मा स्थापित क्याम्पसमा दुई हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी ४०० को हराहारीमा छन् । तीमध्ये ७० प्रतिशत जनजाति र १८ प्रतिशत दलित छन् भने छात्राको सङ्ख्या ८० प्रतिशत रहेको प्रमुख हड्खलेले जानकारी दिनुभयो ।

नेपालको स्वास्थ्य, शिक्षा र अपाङ्गताका क्षेत्रमा सहयोग गर्दै आएको लायन्स क्लबले यसअघि व्यास नगरपालिका–१२ घाँसीकुवास्थित अमरज्योति माध्यमिक विद्यालयमा समेत रु दुई करोड ५० लाख सहयोग गरेको थियो ।

आलुमा आत्मर्निभर बन्यो वडा

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ आलुमा आत्मनिर्भर बनेको छ । किसानको उत्साहजनक सहभागिता, अथक मेहनत र प्रयासबाट सो वडा आलुमा आत्मनिर्भर बनेको हो ।

यो वर्ष करीब चार लाख किलो आलु उत्पादन भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । समूहगत तथा व्यक्तिगत गरी वडाभित्र झण्डै १३ टन आलुको बीउ अनुदानमा वितरण गरिएकोमा तीन लाख ९० हजार किलो आलु उत्पादन भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार आलुको बीउ वितरणमा वडाले रु नौ लाख लगानी गरेको थियो ।

उत्पादन भएका आलुको मूल्य करीब रु एक करोड २० लाख बराबर रहेको छ । उहाँका अनुसार उत्पादित आलु किसानले बिक्री वितरण गरिरहेका छन् । खेतीयोग्य कूल ६५ हेक्टर जमीनमध्ये १० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ भने बाँकी जग्गामा समेत आलुखेती गर्नका लागि किसानलाई प्रोत्साहित गरिने रेग्मीले बताउनुभयो ।

“अहिले १० हेक्टरमा मात्रै आलुखेती गर्दा वडा आत्मनिर्भर बन्न सक्यो भने बाँकी अरु क्षेत्रफलमा समेत आलु लगाउन सकियो भने पूरै नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि किसानलाई प्रोत्साहनको नीति बनाइएको छ ।”

चिस्यान केन्द्र नहुँदा भण्डारणमा समस्या

शुक्लागण्डकी क्षेत्रमा चिस्यान केन्द्र नहुँदा आलु भण्डारणमा समस्या परेको किसानले गुनासो गरेका छन् । शुक्लागण्डकी–८ डहरेकी मञ्जु श्रेष्ठले ७०० केजी आलु बिक्री गरेको र ५०० किलो आलु बाँकी रहेकाले भण्डारणमा समस्या परेको बताउनुभयो । उहाँले १०० किलो आलु रोप्नुभएको थियो ।

उहाँले भन्नुभयो, “बाँकी आलु राख्न कठिन भएको छ । राख्ने ठाउँ नभएर कति त कुहिएर गए । चिस्यान केन्द्र भएको भए समस्या हुने थिएन ।” सोही ठाउँका रमेश महतको घरमा पनि एक हजार २०० किलो आलु छ । चिस्यान केन्द्र नहुँदा आलु कुहिने हो की भन्ने डर लागेको उहाँले बताउनुभयो ।

वडाका मञ्जु र रमेशजस्तै थुप्रै कृषक उत्पादन भएको आलु बिक्रीमा ढिलाइ भएकाले भण्डारणमा समस्या परेको बताउँछन् । कृषक मञ्जुले भन्नुभयो, “यही राख्ने ठाउँ हुने हो भने दुःख गरेको फल राम्रै पाइन्थ्यो । आगामी वर्ष पनि लगाउने उत्साह पनि हुन्थ्यो ।”

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले भने उत्पादित आलु चिस्यानकेन्द्रमा लैजानका लागि वडाले ढुवानीको व्यवस्था मिलाएको बताउनुभयो । शुक्लागण्डकी क्षेत्रमा चिस्यान केन्द्र नरहेकाले पोखरासम्म पु¥याउनुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “अहिले बिक्री नगरी पछि बिक्री गर्ने सोच भएका कृषकलाई चिस्यानकेन्द्रसम्म आलु ढुवानी गर्ने खर्च वडाले नै दिने व्यवस्था मिलाएको छ ।”

प्रतिक्रिया