जिपी कोइरालाको योगदान महत्वपूर्ण : महामन्त्री कोइराला

admin

चितवन, ७ चैत : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई उच्च स्थानमा पु¥याउनमा स्व गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । ‘जिपी कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट’ चितवनले कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा उहाँले स्व कोइरालाले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्नुभएको हो ।

महामन्त्री कोइरालाले भन्नुभयो, “पार्टीलाई विस्तार गरेर उच्च स्थानमा पु¥याउनुमा स्व गिरिजाप्रसाद कोइरालाको योगदान रहेको छ ।” पार्टीका लागि आफ्नो सम्पूर्ण समय उहाँले दिने गरेको चर्चा गर्दै महामन्त्री कोइरालाले भन्नुभयो, “उहाँ आइतबार घरबाट साइकल लिएर निस्किएपछि शुक्रबार मात्रै घर पुग्नुहुन्थ्यो ।” आफ्ना काका गिरिजाप्रसादले मोरङ, सुनसरी लगायतका जिल्ला साइकलमा नै पुग्ने गरेको उहाँले बताउनुभयो ।

नेपालमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान गिरिजाबाबुको रहेको भन्दै उहाँले उहाँका सपना पूरा गर्न काङ्ग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरेले गिरिजाप्रसाद कोइरालाको चर्चा गर्दै पार्टीभित्र मेलमिलाप गर्नु जरुरी रहेको बताउनुभयो । पार्टीभित्रको सिण्डिकेट हट्नुपर्ने भन्दै उहाँले दुवै खालका बहस गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ्, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, आयोजक संस्थाका संयोजक कमल आचार्य, सहसंयोजक प्रमोदकुमार श्रेष्ठ लगायतले स्व कोइरालाको योगदानको उच्च मूल्याङ्कन गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेस चितवनका सदस्य डा ईश्वरीप्रसाद लौडारीले ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया