दमौली, ९ चैत : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो ।
पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गर्नुभएको हो । उक्त ठाउँबाट विगतमा पनि एकल प्याराग्लाइडिङको उडान गरिएको भए पनि पहिलोपटक डबल उडानको परीक्षण गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिनुभयो ।
प्याराग्लाइडर आचार्य र पराजुलीले व्यास–११ का वडाध्यक्ष निरबहादुर खड्का र स्थानीय विष्णु मास्कीसँग पहिलो उडान भर्नुभएको थियो । अर्चलेडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङको सोही वडाको फराकचौरमा अवतरण गरिएको थियो । खड्काका अनुसार उक्त ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङको सम्भावना अध्ययनका लागि परीक्षण गरिएको हो । उहाँले भन्नुभयो, “यस ठाउँमा प्याराग्लाइडिङमार्फत पर्यटक आकर्षित गराई समग्र यस क्षेत्रकै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेका छौँ ।”
व्यावसायिक रूपमा प्याराग्लाइडिङका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा समेत जोड दिने उहाँले बताउनुभयो । पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका आचार्यले उक्त ठाउँ प्याराग्लाइडिङका लागि उपयुक्त रहेको बताउनुभयो । पोखरा र बन्दीपुरमा विगत सात वर्षदेखि प्याराग्लाइडिङ उडान गर्दै आउनुभएका उहाँले यस ठाउँमा व्यावसायिक रूपमा नै प्याराग्लाइडिङ गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभयो ।
तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवा पाँच किलोमिटर र त्यहाँबाट तीन÷चार किमीको दूरीमा सो ठाउँ रहेको छ । उक्त ठाउँका केही घरमा घरबाससमेत सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए सो ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठले बताउनुभयो । रासस