पिएनपीखबर, भक्तपुर। सिन्धुपाल्चोकको मूर्तिकार राजिभ लामासँग निखारिएको सीप छ। जीवन गुजार्न कै लागि उनले सीपलाई व्यवसायमा परिणत गरेका छन्। निखारिएको मूर्ति बनाउने सीप भएका उनले काठ, ढुंगा, माटो र सिमेन्टको प्रयोग गरी जस्तोसुकै मूर्ति पनि बनाउन सक्छन्।
बाल्यकाल अवस्था देखि नै उनी आफ्नो बुबा र हजुरबुबाले मुर्ति बनाएको देख्थे। ख्यालख्याल मै उनले पनि यो सीप सिके। यो उनको पुर्खौली पेसा जस्तै भएको छ अहिले।
मूर्ति बनाएर आएको रकमले परिवारको खाना, लुगाफाटो र बालबालिकाको विद्यालय खर्च धानिएको छ, उनले भने, ‘ जे होस विदेशमा गएर कमाउने रकम स्वदेशमा नै सुखी परिवारमा बसेर कमाएको छु। ‘
हुन त उनी विदेश नगएका पनि होइनन्। लहैलहैमा लागेर विदेश त जानै पर्ने रहेछ भनेर उनी मलेसिया हानिए। काम निकै गार्हो थियो। ३ वर्षको बसाई पछि स्वदेश फर्किए। अब फेरी विदेश जान मन लागेन उनलाई।
अनि सम्झिए आफ्न पुर्ख्यौली पेसा। भक्तपुरको यातुमाहादेवस्थान नजिक उनको सानो छाप्रो छ। घामको छेको परेर उनी दिन भरी त्यहिँ छाप्रोमा बसेर मुर्ति बनाउने गर्दछन्।
अगाडी छरप्रस्ट काठको चोया, बुट्टा कोर्ने औजार अनि तिन चार वटा काठको टुक्रा राखेर उनी दिन भरी त्यहिँ छाप्रोमा समय बिताउछन्। जाँगर लागेको दिनमा पाँचवटा सम्म मुकुट तयार पार्छन् र अल्छि लागेको दिन दुइ/तिनवटा।
एकोहोरो काम गरिरहदा धारिलो औजारले उनलाई नमज्जाले चोट दिएको छ। यत्तिका वर्ष हुँदा त चोट लाग्छ भने भर्खर काम सिक्नेलाई त यसले घाइते नै बनाउछ भनेर उनी यो सीप हत्तपत्त अरुलाई सिक्न प्रेरित चाही गर्दैनन्।
उनी अर्डर अनुसारको सामग्री जे पनि तयार पार्छन्। विशेष गरी उनी काठ कै सामाग्री धेरै बनाउछन्। भगवानको मुर्ति देखि मानिसको मुर्ति अनि काठको अन्य सामग्री तयार गर्न उनी निकै पोख्त छन्।
मुर्ति तयार पारे पश्चातको कामको जिम्मा भने उनको श्रीमतीको हो। मुर्तिमा खाक्सी घोट्ने, रंग दल्ने अनि चिटिक्क पार्ने काम चाही उनले आफ्नो श्रीमतीलाई सुम्पेका छन्।
मूर्तिकारलाई सरकारले स्तर निर्धारण गरी परिचयपत्र उपलब्ध गराई जीविका चलाउन सक्ने गरी काम दिनुपर्ने उनको माग छ। बैंकबाट बिना धितो रकम झिकी व्यवसाय गर्न स्थानीय तहलाईनै अधिकार दिई सीपको जगेर्ना गर्न सकिनेमा उनी विश्वस्त छन्।
बाँकी हेर्नुहोस् भिडियोमा :