विश्‍वकप क्रिकेटको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा

admin

काठमाडौं, चैत १९ : आइसीसी यू-१९ विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। रोहित कुमार पौडेलको कप्तानी रहेको टोलीमा अभिशेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल र मोहम्मद आसिफ शेख छन्।

यसैगरी पवन सर्राफ, प्रतिश जीसी, रसिद खान, रित गौतम,सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङले पनि १४ सदस्यीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टोली चार दिनपछि मलेसिया प्रस्थान गर्ने छ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ। नेपालले अप्रिल १३ तारिखमा यूएई, अप्रिल १५ तारिखमा मलेसिया र अप्रिल १६ तारिखमा कुवेतसँग खेल्ने छ। नेपालले अन्तिम खेल अप्रिल १८ तारिखमा ओमानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा छनोट हुने छ। विश्वकपमा १६ टोली सहभागी हुनेछन्।

नेपाल छनोट होला ८ औँ पटक
नेपालले यसअघि यू-१९ विश्वकप क्रिकेट सातपटक खेलिसकेको छ। नेपालले सन् २००० र २०१६ मा आयोजित विश्वकप संस्करणमा आठौं स्थान हात पारेको थियो।

सन् २००० देखि सन् २००८ सम्म आयोजित लगातार पाँच संस्करण खेलेको नेपालले त्यसयता सन् २०१२ र २०१६ को संस्करण खेलेको थियो। सन् २०१० र २०१४ को संस्करणमा भने छनोट हुन सकेको थिएन। नेपाल विश्वकप छनोटमा सन् २०११ मा उपविजेता र सन् २०१५ मा विजेता बनेको थियो। त्यतिबेला विश्वस्तरको छनोट भएको थियो।

प्रतिक्रिया