१०१ हलबाट लभ स्टेशन रिलिज हुँदै, क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग गर्ने

admin

काठमाडौं, चैत २१ : आगामी नयाँ वर्षको अबसर पारेर यही २२ चैत शुक्रबारदेखि चलचित्र ‘लभ स्टेशन’ मुलुकका १०१ ओटा सिनेमा हलमा रिलिज हुँदैछ । चलचित्र प्रदर्शनको पूर्व सँध्यामा लभ स्टेशन निर्माण टिमका तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । 

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगको छलफल पछि लभ स्टेशनको नेपालमा प्रदर्शन भएको मुनाफाके ५ प्रतिसत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि बिहिबार काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले गरेको छ । यस बारे यो चलचित्रका प्रस्तुतकर्ता गोबिन्द शाहीले भने,‘हाम्रो चलचित्रका तर्फबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अहिले ५० हजार रुपैयाँ सहित फिल्म प्रदर्शन भएपछि नेपालबाट उठेको मुनाफाको ५ प्रतिसत रकम दिने भएका छौं । साथै चलचित्र पत्रकार संघका तर्फबाट ७ जेठमा प्रदान गरिने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार बिजेतालाई अभिनेता प्रदीप खड्का र मेरो तर्फबाट एउटा ल्यापटप प्रदान गरिने घोषणा गर्दछौं ।’

 

गत साता अभिनेता प्रदीप खड्काले काठमाडौंको गोकर्ण स्थित सँयुक्त एकता अपाँग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई भर्ना सहित ३ महिनाको बिधालय शुल्क, बारा जिल्लाका हुरी बतास पीडितलाई सोमबार ५० हजार रुपैयाँ प्रदान गरिसकेका छन् । दुबै हात गुमाएकी मेघा घिमिरेलाई प्रदीप खड्का र लभ स्टेशनका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकेको यो टिमले क्रिकेट मैदान निर्माणका लागि यो सहयोग प्रदानसँगै थप सहयोगको घोषणा बिहिबार गरेका हुन् ।  

 

अभिनेता प्रदीप खड्काले आफुसँग प्रसस्त पैसा नभए पनि कलाकारको पनि सामाजिक उत्तर दायित्व हुन्छ भन्दै यो सहयोग प्रदान गरिएको बताएका छन्,‘नेपाली चलचित्र नचलेको र चल्ने वातावरण विभिन्न पक्षबाट बिगार्ने काम भईरहेको बेला चलचित्र क्षेत्रको समाजप्रतिको दायित्व निर्वाह गर्ने हामीले यस्तो सहयोग गर्र्दै आएका हौं ।’ अभिनेता खड्काले बताए ।  यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशन साँगीतिक प्रेम कथामा आधारित सामाजिक  कथाबस्तु युक्त चलचित्र रहेको निर्देशक घिमिरेले बताएका छन् ।  

 

लिली बिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै चलचित्र लभ स्टेशनमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 

 

प्रतिक्रिया