एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ गर्ने ६ जना सार्वजनिक

admin

राजविराज, चैत २१ : प्रदेश नम्बर–२ को एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ गराउन संलग्न भएको आरोप लागेका दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनीहरुलाई सार्वजनिक गरेको हो ।

सीआइबीका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले १४ र १५ गतेका दुवै प्रश्नपत्र सप्तरी निवासी प्रहरीजवान व्रम्हदेव सुनरैत यादवले सार्वजनिक गरेको बताए । एकै ठाउँमा घर भएका र सँगै कार्यरत् प्रहरीजवान दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न प्रश्नपत्र निकालिएको खुलेको नायव महानिरीक्षक शाहीले जानकारी दिए ।

सोही प्रश्नपत्र व्रह्मदेवले राजविराज नगरपालिका–१० स्थित दाजु विष्णुदेव यादवलाई पठाएको र एकबाट अर्को हुँदै सामाजिक सञ्जालमा पुगेको सीआइबीले जनाएको छ । पक्राउ परेका प्रहरीमध्ये २२ वर्षीय व्रम्हदेव सप्तरीको राजविराज नगरपालिका–१० र दीपेन्द्र राजविराज नगरपालिका–६ का वासिन्दा हुन् ।विष्णुदेवले मनोज यादव, मनोजले राजेश यादव र राजेशबाट उमेश यादव हुँदै प्रश्नपत्र विद्यार्थी र सामाजिक सञ्जालनमा पुगेको बताइएको छ । प्रहरीले व्रम्हदेव र दीपेन्द्रसहित विष्णुदेव, मनोज, राजेश र उमेशलाई पक्रेको हो । अरु विषयको प्रश्नपत्रकाबारेमा ‘डिजिटल फरेन्सिक ल्याब’को रिपोर्ट आएपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया